काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा समस्या रहेको भन्दै समाधानका लागि आफ्नो दायित्वलाई नविर्सीन कर्मचारीलाई निर्देशन दिएका छन्। स्वास्थ्य सेवा विभागले मंगलबार आयोजना गरेको विभाग अन्तर्गतका मुख्य कार्यका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले यस्तो बताएका हुन्।
उनले सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई आग्रह गरे। उनले भने, ‘थप बजेट आवश्यक परे पहल गर्छौ। विभागको स्तरोन्नतीका लागि के गर्नुपर्छ योजना बनाउनुस। सदैब सकारात्मक सहयोग रहन्छ। तर, आफ्नो स्वार्थभन्दा माथी उठेर काम गर्नुहोस्।’
स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालय मातहतको महत्वपूर्ण निकाय भएकाले पनि यसको सवलीकरणका लागि योजना बनाउनुपर्ने बताए। केसीले भने,‘तपाईहरुले जनतालाई पहिलो केन्द्रमा राखेर काम गर्नुपर्छ। अहिलेपनि नागरिकहरु स्वास्थ्य सेवा सहज तरीकाले नपाएर भौतारीनुपर्ने अवस्था छ। यो अवस्थाको हल गर्नुपर्ने आजको आवश्यकता हो।’
केसीले भने, ‘आफ्नो ठाउँमा आफूले पाएको जिम्मेवारी लगनशिलताका साथ गर्नुभएको छ। केहि कुराहरु नमिलेको जस्तो लाग्छ। धेरै ठाउँहरुमा समस्या देखिन्छ। स्वास्थ्य मन्त्रालयमा अलिक समस्या देख्छु मैले। थुप्रै नमिलेको देख्छु। मलाई कुनै स्वार्थ छैन।’
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले विभाग अन्तर्गतका मूख्य मूख्य कार्यक्रमका बारेमा प्रकाश पारेका थिए।