काठमाडौं– सरकारले हालै राष्ट्रिय ट्रमा सेन्टरका निमित्त मेसु डा प्रमोद जोशीलाई कैलालीस्थित गेटा मेडिकल कलेजको अस्पताल निर्देशकमा सरुवा गर्ने निर्णय गरेको छ। उक्त निर्णय अनुसार गेटाको अस्पताल निर्देशकको पत्र समेत उनले पाइसकेका छन्।
आइतबार ट्रमा सेन्टरका नवनियुक्त निमित्त मेसु डा प्रमोद यादव र गेटामा सरुवा भएका डा जोशीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ट्रमा सेन्टरमा भएका र आगामी दिनमा हुने काम तथा योजनाका विषयमा जानकारी दिए। सो क्रममा डा प्रमोद जोशीले ट्रमामा १० महिनाका अवधिमा भएका कामको विवरणसहितको जानकारी दिएका थिए।
गत भदौ २३ गते ट्रमा सेन्टरमा निमित्त मेसुको रुपमा नियुक्त भएका डा जोशी असार १० गतेसम्म जिम्मेवारीमा रहेका थिए। यो अवधिमा अस्पतालको सेवालाई प्रभावकारी बनाउन विभिन्न काम गरेको डा जोशीले जानकारी दिए।
उनले अस्पतालमा नयाँ मेसिन तथा उपकरण खरिद भन्दापनि अस्पतालमै बिग्रिएका मेसिनहरुको मर्मतसम्भारलाई बढी प्राथमिकता दिएको बताए।
उनले भने, ‘मैले मेरो कार्यकालमा सकेसम्म नयाँ सामान नकिन्ने र अस्पतालमा नै भएका सामानलाई मर्मत गर्दै र थन्किएका सामानलाई प्रयोग गर्ने भनेर अघि बढें।’
उनले अस्पतालमै पहिलो पटक शुल्क निर्धारण तथा पुनरावलोकन समिति बनाएर शुल्क निर्धारण गरी व्यवस्थापन समितिबाट पास गरी कार्यकारी समितिबाट अनुमोदन गरिसकेको समेत जानकारी दिए। जसले गर्दा ट्रमा सेन्टरको सेवा गुणस्तरिय हुने र चुहावट रोक्न मद्दत पुग्ने तथा अस्पतालको आम्दानी पारदर्शी हुने उनको भनाइ छ।
यस्तै, विस्तारित स्वास्थ्य सेवा (इएचएस)को विस्तार गरी अस्पतालका सबै विभाग समेटिनेगरी कार्यविधि तयारी पारिएको डा जोशीले जानकारी दिए। विस्तारित स्वास्थ्य सेवा उनको कार्यकाल अघि नै सुरु भएपनि पहिला अप्रेसन थिएटर मात्र रहेको उनले बताए।
सबै विभागको इएचएस सेवा सञ्चालन गर्दा सेवाको गुणस्तर बढ्ने र दक्ष चिकित्सकहरु रातीसम्म पनि सेवामा खटिने उनले जानकारी दिए।
डा जोशीले आफू जिम्मेवारीमै रहँदा अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) सेवा लागू गरिएको बताए।
उनले अस्पताल भवन चुहिने समस्या देखिएको भन्दै नियमित मर्मत सम्भारका लागि पहल गरीएको पनि जानकारी दिए।
यस्तै ट्रमा सेन्टरमा बिरामीका लागि आउने रासन वीर अस्पताल मार्फत उपलब्ध हुने गरेकोमा आगामी साउन १ गतेदेखि लागू हुनेगरी ट्रमा सेन्टर आफैंले रासन व्यवस्था गर्ने तयारी गरेको पनि बताए। जसले गर्दा बिरामीले निशुल्क प्राप्त गर्ने खानाको गुणस्तर बढ्ने उनसको विश्वास छ।
बिरामी कुरुवाका लागि दाता संस्था मार्फत समन्वय गरेर एकछाक खानाको व्यवस्था गरिएको र आगामी दिनमा बिरामी कुरुवालाई दुई छाक खानाको नि:शुल्क व्यवस्थापन गर्न प्रस्ताव समेत गरिएको डा जोशीको भनाइ छ।
अस्पतालम डेन्टल सेवा सुरु गर्न ओरल म्याजिलो फेसियल सर्जनको सेवा पनि सुरु गरिएको डा जोशीले जानकारी दिए।
यस्तै ओटी फार्मेसी सेवा पनि सुरु गरिएको उनले बताए। उनले भने, ‘ओटीमा भएका बिरामीका लागि अस्पतालको एउटै फार्मेसी प्रयोग हुँदा बिरामी कुरुवालाई समस्या पर्ने, दौडधुप हुने र समयमा औषधि उपलब्ध नहुने समस्या देखिएकाले हामीले ओटी फार्मेसी सेवा सुरु गरेका छौं।’
यस्तै अस्पताललाई डिजिटलाइजेसन गर्दै अस्पतालका ल्याब रिपोर्टहरु घरमै बसेर हेर्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए।
ट्रमाका बिरामीको पुनर्स्थापनाका लागि पुनर्स्थापना केन्द्रको व्यवस्थानका लागि पनि पहल गरेको उनले बताए।
यस्तै, ट्रमाका बिरामीको उपचार र पुनर्स्थापनाका लागि वीर अस्पतालका २ जना फिजिसियन चिकित्सकलाई २ महिनाको रोटेसनमा ट्रमामा खटाउन प्रक्रियागत काम पुरा गरेको उनले जानकारी दिए।