काठमाडौं- सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले तीनवटा सेवा थप गरेको छ। लिमिटेडले आफ्नो क्षमता विस्तार गर्दै हेमोडाइलासिस, पानी प्रशोधन तथा वितरण र सूक्ष्म जैविक शाखाको सेवा थप गरेको हो।
उद्योग वाणिज्य आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले बुधबार एक कार्यक्रमकाबीच यी तीनवटै शाखाको उद्घाटन गरेका छन्। लिमिटेडले हेमोडायलासिस गरिरहेका मिर्गौलाका बिरामीका लागि प्रयोग हुने डायलासेट उत्पादनको लागि उक्त शाखा सञ्चालन गरेको हो।
दैनिक ८ सय युनिटदेखि आवश्यकता अनुसार १६०० युनिटसम्म डायलासेट उत्पादन गर्ने गरी शाखा सञ्चालनमा ल्याइएको लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बताए। हेमोडायलासिसको उपचार लिनुपर्ने बिरामीले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुका साथै हेमोडायलासिसको निशुल्क उपचारमा थप सहयोग पुग्ने लिमिटेडको विश्वास छ।
यस्तै, गुणस्तरीय औषधि उत्पादनका लागि पानी प्रशोधन तथा वितरण प्रणालीको पनि लिमिटेडले सुरुवात गरेको छ। विगतमा उक्त प्रणाली नहुँदा लिमिटेडले कुशल उत्पादन अभ्यासको प्रमाण पत्र पाउन नसक्दा औषधि उत्पादन समेत प्रभावित भएको थियो। पानी प्रशोधन तथा वितरण प्रणाली मार्फत प्रतिघण्टा अधिकतम एक हजार लिटर शुद्द पानी औषधिजन्य प्रयोजनका लागि उपलब्ध हुनेछ। युनाइटेड स्टेट फार्माकोपियाको मापदण्ड अनुरुप उत्पादित र वितरित शुद्ध पानीले लिमिटेडबाट उत्पादन हुने हेमोडायलासिस र अन्य औषधिहरुको गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने सफिउल्लाहले बताए।
यो सँगै लिमिटेडले पानी, विभिन्न कच्चा पदार्थ र तयारी औषधिहरुको सूक्ष्म जैविक परीक्षणका लागि सूक्ष्म जैविक शाखाको पनि स्थापना गरेको छ। विगतमा नेपाल औषधि लिमिटेडमा सूक्ष्म जैविक शाखा नहुँदा विभिन्न परीक्षणहरु हुन सकेका थिएनन्।
कार्यक्रममा उद्योग, वाणिज्य तथ आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडुले नेपाल औषधि लिमिटेडको क्षमता अभिवृद्धिका लागि सरकारले पहल गर्ने प्रतिवद्धता जनाएका छन्। राष्ट्रिय उत्पादनलाई बढाउने र आयात घटाउने नीति स्वरुप लिमिटेडको क्षमता विस्तारका लागि आफूले सक्दो पहल गर्ने उनको प्रतिवद्धता थियो। लिमिटेडले आफ्ना उत्पादनहरु अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तार गर्दे लैजानुपर्ने उनले बताए।
कार्यक्रममा लिमिटेडका अध्यक्ष चन्द्रकला पौडेलले धेरै औषधिहरु उत्पादन गर्ने आफूहरुको योजना रहेको बताइन्। अत्यावश्यक औषधिको उत्पादन प्राथमिकतामा रहेको बताउँदै उनले पुरानै लयमा फर्कन सहयोग गर्न सबैलाई आग्रह गरिन्।
नेपाल औषधि उत्पादक संघ एपोनका महासचिव विप्लव अधिकारीले नेपाल औषधि लिमिटेडलाई स्वचालित बनाउनुपर्ने बताए। लिमिटेडलाई बन्द हुने अवस्थामा आउन नदिन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड थियो। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल औषधि लिमिटेडको सामग्री मर्मतदेखि अन्य सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे।