काठमाडौं- भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा सुरेशकुमार नागले अग्रिम हाजिर गर्ने गरेको पाइएको छ। अग्रिम हाजिर गरेर निजीमा ड्युटी गर्ने नागमाथि कारबाहीको सिफारिस गरिएको छ।
डा नाग असार २० गते अस्पतालमा पुगेरर असार २९ गतेसम्मको हाजिरी गरेर गएको भेटिएपछि घटना बाहिर आएको हो। सोमबार (असार २० गते) अस्पताल पुगेर २९ गतेसम्मको अग्रिम हाजिरी गरेको पाइएपछि समितिले जिल्ला प्रशासन कार्यालय, बाँकेमा कारबाहीका लागि लेखिपठाएको छ। त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ।
डा नागले अस्पतालमा आफ्नो ड्युटी पूरा नगरेको भन्दै यसअघि पनि अस्पताल विकास समितिले २०७८ साल साउन २२ गते कारबाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको थियो। त्यसको सुनुवाइ भएको छैन।
डा नागलाई अहिलेसम्म पनि कारबाहीको प्रक्रिया अघि बढ्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद कुमार धितालले जानकारी दिए।
नेपालगन्जको पासाङल्हामु मार्गमा डा नागको आफ्नै वैष्णवी अस्पताल सञ्चालनमा रहेको छ। भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रुपमा रहेको छ।
उनलाई कारबाही गर्न समितिले २०७८ साउन २२ मा स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको थियो। तर, स्वास्थ्य मन्त्रालयले अहिलेसम्म सचेतसम्म पनि चासो नदिएपछि नागको मनोमानी बढेको अस्पताल स्रोत बताउँछ।
हेर्नुहोस असार २० गते अस्पतालमा पुगेरर असार २९ गतेसम्मको नागले गरेको हाजिरी:
