काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको कार्यविभाजन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र राज्यमन्त्री केसीको उपस्थीतीमा कार्यविभाजन भएको हो।
जस अन्तर्गत राज्यमन्त्री केसीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ। यस्तै, मन्त्रालय वा मन्त्रालय अन्तर्गतका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, वोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने, समन्वय गर्ने र नीतिगत सुधारका विषयमा राय पेश गर्ने जिम्मा दिइएको छ।
यस्तै, विशिष्टीकृत अस्पतालहरुको सेवाप्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि राय पेश गर्ने अख्तियारी पनि स्वास्थ्य राज्यमन्त्रीलाई दिइएको छ।
विशिष्टीकृत अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड सम्बन्धी विस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने अधिकार पनि राज्यमन्त्री केसीलाई दिइएको छ।