काठमाडौ- नेपाल आयुर्वेद चिकित्सक संघले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा ७ जना आयुर्वेद चिकित्सकलाई सम्मान गरेको छ। आयुर्वेद चिकित्साको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै सात जना चिकित्सकलाई सम्मान गरिएको हो।
गत २० असारमा राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले उनीहरुलाई सम्मान गरेका हुन्। सम्मानित हुने चिकित्सकहरुमा डा चन्द्र राज सपकोटा, डा कादम्बरी आचार्य, डा मायादेवी गौतम, डा रामचन्द्र अधिकारी, डा बाबुराजा अमात्य, डा रामचन्द्र पाण्डे र डा.सुरज कर्मचार्य रहेका छन्।
सोही अवसरमा आयुर्वेद चिकित्सकहरूले ‘नसर्ने रोगमा आयुर्वेद चिकित्सा’ शीर्षकको वैज्ञानिक सत्रमा आ–आफ्ना शोधपत्रहरु प्रस्तुत गरेका थिए। डा. विनोद घिमिरेले ‘नसर्ने रोगमा थेरापिटिक योग र आयुर्वेदको एकीकृत प्रभाव’ र डा. अमित मान जोशीले ‘हाइपोथाइरोडमा जडीबुटी तथा खनिज औषधिको प्रभाव’ शीर्षक शोधपत्र प्रस्तुत गरेका थिए।
उक्त वैज्ञानिक सत्रमा आयुर्वेद विज्ञ र चिकित्सकहरुले आयुर्वेदका विभिन्न चिकित्सा विधिहरूले नसर्ने रोगको चिकित्साका लागि महत्त्वपूर्ण भूमिका निभाउन सक्ने धारणा राखेका थिए।
चिकित्सकहरूले यस्ता विधिहरूलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वास्थ्य कार्यक्रममा समावेश गरेर नसर्ने रोगको उपचार र रोकथाम गर्ने विषयहरू माथि पनि छलफल गरेका थिए।
कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले आयुर्वेदको महत्व मानव स्वास्थ्यका लागि अतुलनीय भएको बताए। उनले यसको जगेर्ना गर्ने र व्यवसायिक रुपमा थप प्रभावकारी ढंगले अघि बढाउन सबै पक्ष लाग्नु पर्ने बताए। मन्त्री खापुङले आयुर्वेद चिकित्सक संघका मागहरू जायज रहेकोमा यसको कार्यान्वयनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
राष्ट्रिय योजना आयोगका सदस्य डा. उमा शंकर प्रसादले आयुर्वेदलाई स्वास्थ्य योजनामा प्राथमिकता साथ राखिनुपर्ने आवश्यकता राष्ट्रिय योजना आयोगले महसुस गरेको भन्दै अब को दशक आयुर्वेद को दशक रहेको बताए। उनले यसको विकास बिस्तार मा विशेष जोड दिनु पर्ने धारणा राखे।
कार्यक्रमका आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा श्याम बाबु यादवले राष्ट्रिय आयुर्वेद प्रतिष्ठानको स्थापना, सरकारी सेवामा रहेका आयुर्वेद चिकित्सकहरूले वृद्धि विकास गर्नु पर्नेमा ध्यानाकर्षण गराएका थिए।
उनले आयुर्वेद औषधिको उत्पादन र गुणस्तर निर्धारण, जिल्ला आयुर्वेद औषधालयको आयुर्वेद चिकित्सालयमा स्तरोन्नति र औषधिजन्य जडीबुटीको अनुसन्धानको लागि राष्ट्रिय औषधिजन्य वनस्पति बोर्डको स्थापना, एवं परम्परागत चिकित्सकीय ज्ञानको संरक्षण एवं प्रवर्धन गर्न राष्ट्रिय अभिलेखीकरण प्रक्रियाको थालनी गर्नुपर्ने कुरामा जोड दिएका थिए।
उनले नेपाल आयुर्वेद चिकित्सक सङ्घको भूमिका माथि प्रकाश पार्दै संघ अझै सकृया रूपमा अघि बढ्दै जाने कुरा व्यक्त गरे।