झापा - झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढेपनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ।
हेर्दा डढुवा वा जनैखटिरो जस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षातको मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए।
उनले यो समस्या भाइरल इन्फेक्सनजस्तो नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्या समेत नआएको जानकारी दिए। डा ढकालले भने, “छाला रोगको विशषेज्ञ भएर सेवा दिएको १७ वर्ष भयो। प्रत्येक वर्ष यो समस्या देखा पर्छ। विगतमा भन्दा अलि बढी यसपाली देखिएको हो। डरलाग्दो र भयानक रोग भने होइन।”
डा ढकालले किराले सङ्क्रमण गराइहालेमा पनि नआत्तिने र बढी चिलाए वा पोलेमा नजिकको स्वास्थ्य चौकी वा छाला रोग विशेषज्ञलाई तुरुन्त देखाउन आग्रह गरे।
“हामी यसलाई पेडेरस डर्माटाइटिस भन्छौँ”, उनले भने, “यो नाइरोबी फ्लाई नामक किराले नटोके पनि मानिसको शरीरमा लतपतिएपछि निस्कने पिपका कारण पनि आउँछ। देख्ने बित्तिकै सफा पानीले धोएमा कुनै एलर्जी पनि हुँदैन।”
उनले विगतमा भन्दा मानिसमा स्वास्थ्यको चेतनास्तर वृद्धि भएपनि सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका कारण सानो समस्या देखिने बित्तिकै बढी आत्तिने गरेको बताए।