काठमाडौं– प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको एक टोली गेटा मेडिकल कजेलको स्थलगत अध्ययनका लागि कैलाली पुगेको छ। निर्माणाधीन गेटा मेडिकल कलेजको अहिलेसम्मको अवस्था स्थलगत रुपमा अध्ययन गर्न समितिका सदस्यहरुको टोली आइतबार कैलाली पुगेको हो।
टोलीमा सहभागी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का सांसद डा. दीपकप्रकाश भट्टले गेटा मेडिकल कलेजको अध्ययन गर्न टोली कैलाली पुगेको जानकारी दिए।
बिहान ८ बजे काठमाडौंबाट धनगढी प्रस्थान गरेको संसदीय टोलीले गेटामा निर्माणाधीन मेडिकल कजेलको स्थलगत अध्ययन गर्नेछ।
सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा समेत गेटा मेडिकल कलेज सञ्चालनका बारेमा प्रष्ट केही विषय उल्लेख नगरेको भन्दै सुदूरपश्चिमका राजनीतिक दल, सांसद लगायत त्यहाँका नागरिकले विरोध गर्दै आइरहेका छन्।
सांसद भट्टले त पटक पटक संसद्मा गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रुपमा सरकारले अगाडि बढाउनुपर्ने माग राख्दै आएका छन्।
समितिका सदस्य योगेशकुमार भट्टराईको नेतृत्वमा सदस्यहरु अञ्जना विशंखे, चित्रलेखा यादव, नविना लामा, भैरवबहादुर सिंह, मानबहादुर विश्वकर्मा र डा. दीपकप्रकाश भट्ट स्थलगत अध्ययनमा गएका हुन्। उक्त कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सांसद नारदमुनी रानालाई पनि आमन्त्रित गरिएको छ।
समितिले त्यहाँ अध्ययन, कार्यकारीसँग अहिलेसम्मको अवस्थाका बारेमा जानकारी लिनुका साथै अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। संसदीय टोली सोमबार काठमाडौं फर्किने छ।
गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा अगाडि बढाउन माग गर्दै केही समयअघि सुदूरपश्चिमबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण समेत गराएका थिए।