काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको ५० शय्याको अस्पतालको संगठन संरचनामा रेडियोग्राफीका विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन्।
मन्त्रालयबाट जारी स्वास्थ्य संस्था संचालन मापदण्डको परिच्छेद ९ (ठ)मा ५० शय्याको अस्पतालमा सीटीस्क्यान मेसीन संचालनको लागि कम्तिमा एक जना रेडियोग्राफी टेक्नोलोजिस्ट आवश्यक हुने भनिए पनि हाल आएको मस्यौदामा उक्त पद नराखिएको उनीहरुको भनाई छ।
उनीहरुले ५० शय्याको अस्पतालमा रेडियोग्राफी टेक्नोलोजिस्टको दरबन्दीसहित मस्यौदा सच्याउन माग गरेका छन्।
मन्त्रालयले तयार पारेको संगठन संरचनामा १४५ जनाको दरबन्दी प्रस्ताव गरिएको छ। जसमा ११ औँ तहको मेसु र नवौं तथा दशौं तहका ११ जना चिकित्सक प्रस्ताव गरिएको छ।
यस्तै आठौँ तहका मेडिकल अधिकृत १२ जना, डेन्टल सर्जन १ जना, कविराज चिकित्सक १ जना पनि उल्लेख गरिएको छ।
अस्पतालमा पाँचौँ तथा छैटौ तहका स्टाफ नर्स ४० जना, मिडवाईफ्री ४ जना र एचए १० जना प्रस्ताव गरिएको छ। स्वीपर, सुरक्षाकर्मी र सवारी चालक समेत गरी अस्पतालमा १४५ जनाको दरबन्दी तेरिज प्रस्ताव गरिएको छ।