काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले दाङका स्वास्थ्य संस्थाहरुको अनुगमन गरेका छन्।
स्वास्थ्य राज्यमन्त्री केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, लमीह अस्पताल र प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य संस्थाको सुदृढिकरणका लागि पहल थाल्ने बताए।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षणपछि स्वास्थ्य राज्यमन्त्री केसीले प्रतिष्ठानलाई थप व्यवस्थित गर्ने र भरपर्दो स्वास्थ्य संस्थाको रुपमा विकास गरिने बताए। उनले भने, ‘प्रतिष्ठान दाङको इज्जत प्रतिष्ठासँग जोडिएको विषय हो। प्रतिष्ठानका लागि केन्द्र सरकारबाट पूर्ण सहयोग हुन्छ।’
प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले प्रतिष्ठानको समग्र अवस्था र योजनाबारे जानकारी गराएका थिए। प्रतिष्ठानमा दैनिक छ सय बिरामीले उपचार सेवा लिने गरेको प्रतिष्ठानका निर्देशक डा प्रज्ञा बस्नेतले जानकारी गराइन्।