काठमाडौं- निजामती कर्मचारी अस्पताल (सिभिल) ले आँखाको विशिष्टीकृत सेवा प्रदान गर्नेभएको छ। अस्पतालले तिलगङ्गा अस्पतालसँगको समन्वयमा आँखाको विशिष्टीकृत सेवा प्रदान गर्ने भएको हो।
अस्पतालका कार्यकारी निर्देशक प्राडा विधाननिधि पौडेल र तिलगङ्गा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङबीचसिभिल अस्पताललाई विशिष्टीकृत सेवा सञ्चालन गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले सिभिलमा आँखाको विशिष्टीकृत सेवा सञ्चालन गर्न तिलगङ्गासँग प्राविधिक सहयोग गर्नका लागि सहमतिपत्रमा हस्ताक्षर गरिएको बताए। उनले तिलगङ्गाको सहयोगमा सिभिलले आँखाको विशिष्टीकृत सेवा केन्द्र स्थापना गर्ने बताए।
सिभिल अस्पतालमा एक वर्षदेखि आँखाको उपचार भइरहेको छ। अहिले आँखाका एक चिकित्सक र दुई प्राविधिक छन्। निर्देशक डा पौडेलले चाँडै तीन चिकित्सक राखेर सेवा दिइने जानकारी दिए। उनका अनुसार बिरामीलाई चाहिने सस्तो चश्मा अस्पतालमा नै बनाएर उपलब्ध गराइरहेको छ।
तिलगङ्गा अस्पतालले सिभिल अस्पतालका आँखाका चिकित्सक र प्राविधिकलाई तालिम दिने, दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गर्ने, सिभिल अस्पतालमा आँखाका शल्यक्रिया गर्न शल्यकक्षको डिजाइन र सामग्री खरिदका लागि सहजीकरण गर्ने सहमति भएको छ। तिलगङ्गामा उपचार गर्न आएका आँखासम्बन्धी बिरामीलाई अन्य रोग देखिए त्यसको उपचार सिभिल अस्पतालले गर्ने, तिलगङ्गामा नभएका प्रयोगशालाका परीक्षण एमआरसी, सिटी स्क्यान सिभिल अस्पतालले गर्ने पनि सहमति भएको छ।
सिभिल अस्पतालमा उपचार नभएका आँखाका बिरामीलाई विशिष्टीकृत सेवा तिलगङ्गालाई रिफर गर्ने तथा शैक्षिक कार्यक्रम, अनुसन्धान कामहरु एक अर्काको समन्वयमा गर्ने पनि सहमति भएको छ। रासस