काठमाडौं- राष्ट्रियसभाका सदस्य डा विमला राई पौडेलले जनसंख्या जनशक्ति व्यवस्थापन सम्बन्धी बेग्लै मन्त्रालय स्थापना गर्न आग्रह गरेकी छन्।
विश्व जनसङ्ख्या दिवस २०२२ का अवसरमा त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले आयोजना गरेको ‘जनसङ्ख्या, समृद्धि र विकास’ विषयक विचार गोष्ठीमा सांसद पौडेलले मुलुकमा कुन क्षेत्रमा कति जनशक्ति, कर्मचारी र प्राविधिक आवश्यक पर्छ भन्ने योजनातर्जुमा र व्यवस्थापन गर्न बेग्लै मन्त्रालय चाहिने बताइन्।
उनले जनशक्तिको उचित योजना नहुँदा युवामा बेरोजगारी र विदेश पलायनको क्रम बढेको टिप्पणी गरिन्। हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संयुक्त रुपमा रहेका छन्।
उनले सबैभन्दा खेतीयोग्य जमिन, धेरै जनसङ्ख्या, धेरै सीमानाका मधेसमै भए पनि त्यही प्रदेशमा बढी बसाइँसराइ हुनुका कारण खोज्न आग्रह गर्दै जनसाङ्खिक लाभ लिनसक्ने गरी योजना बनाउनुपर्नेमा जोड दिनुइन्।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा सुरेन्द्रलाभ कर्णले खुल्ला सीमानाका कारण नेपाल र भारतमा बसाइँसराइ सामान्य हुँदा जनङ्ख्याका सम्बन्धमा संवेदनशीलता अपनाउनुपर्ने बताए। उनले जनसङ्ख्यालाई विकास, शिक्षा, रोजगारीसँग जोड्न नसकेमा मुुलुक समृद्ध नहुने बताए। रासस