काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गरेका छन्। अनुगमनका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले बिरामीमैत्री सेवा प्रबाह गर्न निर्देशन दिए। प्रत्यारोपण केन्द्रको अनुगमन गर्दै मन्त्री केसीले डायलायसीस गर्न र मिर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई निराकरण गर्नुपर्ने बताए।
उनले भने, ‘अहिलेपनि सजिलैसंग केन्द्रबाट डायलायसीस नभएको सुनिन्छ। निकै पालो कुर्नुपर्ने अवस्था छ। यस्तै, प्रत्यारोपण गर्न निकै समय लाग्छ। यो अवस्थाको अन्त्य गर्नुपर्छ। बरु के गर्नुपर्छ मैले मेरो तर्फबाट पहल गर्छु। विरामीलाई दुःख नदिनुहोस।’ प्रत्यारोपण केन्द्रमा नाम टिपाएका सबैको पालो आउन समय लाग्ने समस्याको हल गर्न आवश्यक रहेको बताए । उनले अहिलेपनि शय्या नपाएर विरामी मर्कामा पर्ने गरेको बताए। केसीले भने, के गर्नुपर्छ मैले सहजीकरण गर्छु।
राज्यमन्त्री केसीले भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गर्दै चिकित्सहरु सीमित स्रोत साधनका बाबजुत रातदिन खटेर सेवा प्रवाह गरेको भन्दै अस्पताललाई धन्यवाद दिए। उनले भने, ‘बाहिर चिकित्सकबाट वा अस्पतालबाट लापरबाही भएको सुन्छौं। खट्ने मान्छे विहानै देखि बेलुकीसम्म खट्नुहुन्छ। कुनै चाँहि नखट्ने आउँछ। त्यसलाई सुधार गरेर आफूलाई म म गर्नुपर्छ। कम्तीमा यस अस्पतालमा ५ सय शय्या आवश्यक देख्छु। त्यति भयो भने १५÷२० वर्ष देख्छौं।’ अस्पतालको स्तरवृद्धि गर्न आफूले पहल गर्ने बताए। अस्पतालमा भवनको समस्या देखिएको भन्दै सरकारको तर्फबाट भूमिका खेल्ने बताए।
सो अवसरमा कर्मचारीहरुले लामो समयदेखि करारमा काम गर्न बाध्य भएको भन्दै अस्पतालको गठन आदेश परीमार्जन गर्न स्वास्थ्य राज्य मन्त्रीको ध्यानाकर्षण गराएका थिए। राज्य मन्त्री केसीले लामो समयदेखि क्यान्सर अस्पतालमा करारको रुपमा काम गर्ने बाध्यताको हल गर्न पहल थाल्ने बताए। अनुगमनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख मेडीकल सुपरीटेण्डेण्ट डा सर्वेश शर्मा लगायतको सहभागीता रहेको थियो।