काठमाडौं- नेकपा एमालेले शेर बहादुर देउवा नेतृत्वको सरकार स्वास्थ्य पूर्ण रुपमा असफल भएको बताएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएको हो।
एमाले सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार पत्रकार सम्मलेनमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। ‘संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्न समेत सकेको छैन,’ एमाले सचिव योगेश भट्टराईले भनेका छन्।
'कोभिड १९ को महामारीलाई नियन्त्रण गर्नका लागि विश्व स्वास्थ्य संगठनले नेपाल लगायतका देशलाई सन् २०२२ जुन महिनाको अन्तिम सम्ममा कुल जनसंख्या को ७० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाउनु पर्ने भनी दिएको लक्ष्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कमजोर व्यस्थापन र नेतृत्वका कारण, पर्याप्त खोप हुँदाहुदै पनि पूरा हुन सकेन,' उनले भने, 'बरु पूर्ववर्ती केपी ओली सरकारका पालामा भएका सम्झौता बमोजिम प्राप्त करिब ५ करोड ८० लाख खोपको समुचित व्यवस्थापन मात्र गरेको भए दुई मात्रा खोप सबै नेपालीले पाउने थिए। तर कमजोर व्यस्थापन र नेतृत्वका कारण १० लाख मात्रा बढी खोपको मिति सकिएर फालिएको तीतो सत्य हाम्रा सामू छ।'
एमालेले आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर गर्नु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चरम अनियमितता र सत्ताको दुरुपयोग भनेको छ।
वित्तीय अनुशासन र खर्च प्रणालीका हिसाबले यो गम्भीर आर्थिक अपचलन र पदीय दुरुपयोग भएको भन्दै भट्टराईले यस सवालमा अख्तियार तथा महालेखापरीक्षक कार्यालयको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताएका छन्।
कर्णाली प्रदेशका सबै जिल्ला, खोटाङ, रौतहट, बझाङ, सिरहा, धनुुषा, सिन्धुली, उदयपुर, मोरङ र पाँचथरलगायतका जिल्लामा अझै पनि जनसंख्याको ४० प्रतिशतले खोप नपाएको एमालेको आरोप छ । त्यस्तै २७६ स्थानीय तहमा पनि ४० प्रतिशतले अझै खोप प्राप्त गर्न नसकेको भट्टराईले बताए।
विज्ञप्ति