काठमाडौं– डा रोजित श्रेष्ठ अमेरिकन सोसाइटी फर क्लिनिकल प्याथोलोजी (एएससिपी)को ४० अण्डर ४० सूचीमा समावेश भएका छन्। उक्त समाजले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा डा श्रेष्ठ ४० अण्डर ४० मा परेको उल्लेख छ।
रोग विज्ञान तथा प्रयोगशालासँग सम्बन्धित पेशागत व्यक्तिहरुको व्यावसायिक सदस्यता संगठन अमेरिकन सोसाइटी फर क्लिनिकल प्याथोलोजीले सन् १९२२ देखि विश्वभर काम गर्दैै आएको छ। प्रयोगशाला चिकित्सा विशेषताको प्रयोग र विकासलाई निर्देशित गर्ने यो समाजले शैक्षिक र क्लिनिकल आवश्यकताहरु पुरा गर्ने, परीक्षाहरुमा स्वीकार्य स्तरहरु प्राप्त गर्ने प्रयोगशालाका पेशागत व्यक्तिहरुलाई प्रमाणित गर्ने लगायतका काम गर्दछ ।
समाजको ४० अण्डर ४० कार्यक्रमहरुले विश्वभरका उच्च निपुण प्याथोलोजिस्ट तथा ४० वर्ष मुनिका प्रयोगशालासँग पेशागत रुपमा जोडिएका व्यक्तिहरुलाई प्रोत्साहन गर्ने गर्दछ। आफ्नो पोशामा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै समाजले यो सूची सार्वजनिक गर्ने गरेको छ।
श्रेष्ठले आफूले दिएको योगदानको आधारमा यो सूचीमा समावेश हुन पाउँदा खुसी भएको बताए। उनले भने, ‘म आफ्ना कर्तव्य निष्ठापूर्वक पुरा गरिरहेको थिएँ। मेरो कामको मूल्यांकन गर्दै यो सूचीमा समावेश हुँदा खुसी लागेको छ।’
शिर्ष ४० मा परेका श्रेष्ठले अहिले शिर्ष ५ मा पर्नका लागि गृहकार्य गरिरहेका छन्। उत्कृष्ट ४० मध्येबाट ५ जनालाई यहि वर्ष सिकागोमा हुने एएससिपीको १०० औं वार्षिक उत्सवमा भाग लिने अवसर दिइने छ। श्रेष्ठ आफूले उत्कृष्ट ५ मा पर्नका लागि भोट आवश्यक भएको बताउँछन् ।
भोटिङका लागि जुलाई १९ सम्मको समय रहेको छ। इन्टरनेटको माध्यमबाट भोट गर्न सकिने उनले बताएका छन्।