काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेले भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठलाई उमेरहदका कारण अनिवार्य अवकाश पाए पनि केन्द्रको कार्यकारी निर्देशकमा नै निरन्तर रहने गरी कानुन संशोधन गरेको विषयमा विरोध गरेको छ।
एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएको हो। एमाले सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार पत्रकार सम्मलेनमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
'शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा व्यक्ति केन्द्रित गरी गठन आदेश (मानव अंग प्रत्यारोपण विकास समिति) संशोधन गरिएको छ, यस्ता कार्यले संस्थागत विकासमा दीर्घकालीन असर गर्ने निश्चित छ,' पत्रकार सम्मेलनका क्रममा उनले भने।
सरकारले मानव अङ्ग प्रत्यारोपण विकास समितिको गठन आदेशमा संशोधन गर्दै भदौबाट अवकास पाउन लागेका डा श्रेष्ठलाई कार्यकारी निर्देशकमा निरन्तरा दिने गरी बाटो खोलिदिएको हो। असार २ मा सरकारले मानव अङ्ग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश, २०७९ को दफा ६ को उपदफा ३ (क) थप गरेको छ।
जसमा भनिएको छ ‘उपदफा २ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त भएको चिकित्सक नेपाल स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकास हुने भएमा समेत उपदफा (३) बमोजिमको अवधीसम्म कार्यकारी निर्देशकको पदमा बहाल रही रहन बाधा पर्ने छैन।’ डा पुकार भदौमा ६० वर्ष उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन्। तर सरकारले अहिले नै गठन आदेश संशोधन गर्दै उक्त पदमा डा पुकारलाई नै निरन्तर हुने व्यवस्था मिलाइदिएको हो।
डा पुकारको केन्द्रमा यो तेस्रो कार्यकाल हो। केन्द्रमा रहँदा उनी सँधै विवादमा आउने र अनियमिततामा मुछिएका छन्। दुई कार्यकाल केन्द्रको निर्देशक हुँदा केन्द्रमा अनियमितता गरेको प्रमाणित हुँदा पनि सरकारले कारबाही गर्न सकेको थिएन। यस्तै केन्द्रमा रहँदा उनले कर्मचारीहरुलाई शोषण गरेको आरोप समेत लागेको थियो।
दुई कार्यकाल नै विवाद र अनियमिततामा मुछिएका डा पुकारलाई सरकारले गत वर्षको असोजमा कारबाही नगरी निर्देशक बनाएको थियो। केन्द्रको निर्देशक पद ४ वर्षको हुनेछ।
६० वर्ष उमेहदका कारण अवकाश पाउनु पर्ने डा श्रेष्ठलाई सरकारले थप तीन वर्ष काम गर्ने मिल्ने गरी कानुन नै संशोधन गर्नु गलत भएको स्वास्थ्य मन्त्रालयका कर्मचारी बताउँछन्। उनी स्वास्थ्य सेवा तर्फका १० औं तहका कर्मचारी हुन्।