काठमाडौं- पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्न थालेको छ। अघिल्लो शुक्रबार ७८ जनामा कोरोना संक्रमण देखिएकोमा आजसम्म आउँदा एकैदिन २६० जना सम्ममा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो शुक्रबार ७८ जनामा कोरोना संक्रमण देखिएकोमा शनिबार १०२ जनामा संक्रमण पुष्टि भयो।
गत आइतबार देशभर १२१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलीपल्ट अर्थात सोमबार संक्रमण थप उकालो लाग्दै १६८ जनामा कोरोना देखियो।
सोमबारको तुलनामा मंगलबार ९ अंकले बढेर १७७ जनमा संक्रमण देखिएकोमा भोलीपल्ट अर्थात बुधबार २०६ जनामा कोरोना संक्रमण पुष्टि भयो। उक्त दिन देखि नै नेपालमा दैनिक कोरोना संक्रमितको संख्या दुई सय भन्दा माथि रहेको छ।
बिहीबार नेपालमा २६० जनामा कोरोना पुष्टि भएपनि शुक्रबार भने केही कम अर्थात २२९ जना कोभिड संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विदेशबाट आउनेहरुमा कोरोना संक्रमण बढ्दै गएको पाइएो छ।
अधिकांशमा ओमीक्रोनको बिए वान र बिए टु भेटिएको छ। अन्य देशहरुमा बिए फाइब फैलिरहेको अवस्थामा नेपाल पनि त्यसको जोखिममा छ। हाल कुल संक्रमण दर १७ प्रतिशत छ। संक्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
अरु भन्दा बढी संक्रामक रहेको यो भेरियन्ट नेपालमा भने हालसम्म देखिइसकेको छैन। पछिल्लो २४ घन्टामा देशभर थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २०६ जनामा संक्रमण पुष्टि भएको हो। तीन हजार ७१८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
एक हजार ६४४ जनाको पिसिआर र दुई हजार ७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार २८४ जना सक्रिय संक्रमित छन्।
४८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौंमात्रै रहेको छ। शून्य संक्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, बाजुरा र डडेलधुरा रहेका छन्।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा ७८६, ललितपुर ९० र भक्तपुरमा १९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।