काठमाडौं- डा झलक शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको १०औं तहका कर्मचारी हुन्। उनी स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको पूर्वाधार शाखा प्रमुख प्रमुख हुन्।
उनी पछिल्लो केही समययता कार्यालयको काममा भन्दा बढी नेकपा एमालेको काममा बढी सक्रिय हुँदै आइरहेका छन्। सरकारी कर्मचारी डा गौतम नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका सदस्य पनि हुन्।
शुक्रबार नेकपा एमालेको उक्त विभागले पार्टी कार्यालय च्यासलमा एक कार्यक्रमको आयोजना गरेको थियो। पार्टीको स्वास्थ्य विभागले सरकारले एक वर्षमा स्वास्थ्यमा गरेका कामको रिपोर्ट कार्ड भन्दै २६ बुँदामा सरकारको आलोचना गरेको छ। उक्त कार्यक्रममा पार्टीका तर्फबाट कार्यक्रम सञ्चालक थिए सरकारी कर्मचारी डा झलक शर्मा गौतम।
एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले डा गौतमलाई छेउमा राख्दै स्वास्थ्य मन्त्रालय र उनी कार्यरत निकायका विषयलाई केन्द्रित गर्दै २६ बुँदामा सरकारको आलोचना गरे। छेउमा रहेका डा गौतम बेला बेलामा हाँस्दै र मुन्टो हल्लाउँदै बसिरहेका थिए।
डा गौतम नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष समेत हुन्।
नियम अनुसार सरकारी सेवामा रहेका कर्मचारीले कुनै पनि राजनीतिक दल र दलको कार्यक्रममा सहभागी हुन पाइँदैन। तर डा गौतम एमाले स्वास्थ्य विभागका सदस्य समेत छन् भने पार्टीका काममा कार्यालयको काम छाडेर पनि जाने गरेका छन्।