काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायमा कार्यरत सरकारी कर्मचारीहरु विभिन्न राजनीतिक दलको विभागीय सदस्यका रुपमा सक्रिय रहेको फेला परेको छ। सरकारी कर्मचारीहरु कोही आफ्नै नाममा त कोही आफ्नो नामको छोटकरीमा राजनीतिक पार्टीको विभागमा सदस्य रहेको फेला परेको हो।
स्वास्थ्य मन्त्रालयको १२औं तहमा रहेका प्रमुख विशेषज्ञ नै पार्टीको विभागीय सदस्य रहेको समेत फेला परेको छ।
नियम अनुसार सरकारी सेवामा रहेका कुनै पनि कर्मचारीले राजनीतिक दल र दलको कार्यक्रममा सहभागी हुन पाइँदैन। तर सरकारी तलब खाइरहेका कर्मचारीहरु खुलेआम राजनीतिक दलको विभागीय सदस्य बनेको फेला परेको छ। यति मात्र होइन उनीहरु दलको कार्यक्रममा समेत निस्फिक्री सहभागी हुने गरेको समेत विभिन्न समयमा फेला पर्दै आइरहेको छ।
मन्त्रालयको १२औं तहमा रहेका डा गुणराज लोहनी नेकपा माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागको सदस्य हुन्। उनी मात्र होइन मन्त्रालयमा नै कार्यरत १०औं तहका डा गुणनिधि शर्मा पनि माओवादी केन्द्रको उक्त विभागका सदस्य हुन्।
कल्पना धमला प्रमुख रहेको स्वास्थ्य विभागमा डा लोहनी जिआर लोहनीको नाममा सदस्य छन् भने डा शर्मा जिएन शर्माको नाममा सदस्य रहेका छन्। ३५ सदस्यीय उक्त विभागमा चितवनको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी पनि सदस्य छन्।
माओवादीको उक्त विभागमा स्वास्थ्य सेवाबाट अवकाश भएका चुडामणि भण्डारी पनि सदस्य छन्।
यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा अर्जुन तिवारी, डा निरेश थापा, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका डा कृष्णसागर शर्मा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा गुरु खनाल, डा मधुर बस्नेत, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी नर्सिङ प्रशिक्षक शुक्ला खनाल लगायत रहेका छन्।
यसैगरी, नेकपा एमालेको स्वास्थ्य विभागमा पनि सरकारी कर्मचारीहरु रहेका छन्। योगेश भट्टराई प्रमुख रहेको स्वास्थ्य विभागमा स्वास्थ्य सेवाका १०औं तहका डा झलक शर्मा गौतम, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी रजिष्ट्रार प्रमिला देवान, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी, त्रिभुवन विश्वविद्यालय अन्तर्गत कै मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा अनिल भट्टराई सदस्य रहेका छन्।
विभागमा स्वास्थ्य सेवाबाट हालै राजीनामा दिएका डा जागेश्वर गौतम, डा खेम कार्की, महेन्द्र श्रेष्ठ लगायत पनि छन्।
यस्तै, नेपाली कांग्रेसले भने अहिले स्वास्थ्य विभाग बनाएको छैन। पछिल्लो महाधिवेशनपछि आएको नेतृत्वले विभाग गठन गर्न ढिला गरेको बताइएको छ।
यी हुन् माओवादीको स्वास्थ्य विभागका सदस्यहरु
यी हुन् एमालेको स्वास्थ्य विभागका सदस्यहरु