काठमाडौं - झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले महिलामा हुने क्यान्सर रोगको उपचार ल्याप्रोस्कोपी (दूरबीनको माध्यम) बाट गर्न सुरु गरेको छ।
अस्पतालले एक महिनामा चार जना महिलाको बिना चिरफार दूरबीनको माध्यमबाट क्यान्सर रोगको उपचार गरेको छ। पहिलो चरणको पाठेघर र अण्डाशयको क्यान्सरको उपचार दूरबीनको माध्यमबाट गरिएको महिला सम्बन्धी क्यान्सर रोग एवं ल्याप्रोस्कोपिक गाइनो अंकोसर्जन डा वीरेन्द्र भगतले बताए।
उनले भने, 'सुरुवाती चरणको क्यान्सरको उपचार ल्याप्रोस्कोपीको माध्यमबाट सजिलै गर्न सकिन्छ। ल्याप्रोस्कोपीको माध्यमबाट क्यान्सर रोगको उपचार गर्दा बिरामीलाई सहज पनि हुन्छ।'
ल्याप्रोस्कोपीबाट उपचार गर्दा समय कम लाग्ने, रगत कम बग्ने, दुखाई तथा संक्रमणको संभावना कम हुने, घाउँ पाक्ने समस्या कम हुने, अस्पतालको बसाई कम हुने उनले बताए। पेट चिरेर उपचार गर्दा सामान्यतया बिरामी ८ देखि १० दिनसम्म अस्पताल बस्नुपर्ने हुन्छ। तर दूरबीनको माध्यमबाट उपचार गर्दा ३ देखि ४ दिन मात्र अस्पताल बस्नुपर्ने डा भगतले बताए।