लुम्बिनी - लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बहिरङ्ग र जनरल बेड सेवा निःशुल्क गरिएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई बहिरङ्ग सेवा र जनरल बेड सेवामा शुल्क नलिने व्यवस्था गरेसँगै उक्त निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले जानकारी दिए।
“लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट २०७९ साउन १ गतेदेखि बहिरङ सेवा र जनरल बेड सेवा निःशुल्क हुने छ”, उनले भने, “प्रदेश सरकारले दुवै अस्पतालमा ओपिडी र बेड निःशुल्क गर्न रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ।”
यस्तै साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत पनि निःशुल्क हुने भएको छ। रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सरकारले बजेटमा निःशुल्क रगतका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ। रासस