काठमाडौं- स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधनका लागि ७ सदस्यीय कार्यदल बन्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिने बताएका हुन्।
‘स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधन गर्न कार्यदल गठन हुन्छ। कार्यदलले समस्यामात्रै होइन मन्त्रालयलाई सुझाव पनि दिनेछ। कार्यदलबाट तत्काल के गर्न सकिन्छ? दिर्घकालीन के गर्न सकिन्छ? ठोस योजना बन्नेछ। त्यही अनुसार अघि बढ्न सकिन्छ,’ उनले भने।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्यका समस्या हल गर्न आफू निरन्तर स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुसंग संगै रहेर काम गर्दै आएको बताए। डा पोखरेलले आफ्ना हकहित संगै जनतासंग जोडिने गरी काम गर्नुपर्ने बताए।
स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको संयोजक समेत रहेका नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्यकर्मीको माग सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने र अन्तर मन्त्रालय समन्वय अहिलेको खाँचो रहेको बताए।
स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठनका सदस्य सचिव माइकल देवकोटाले विगतमा भएको १९ बुँदे सम्झौता अक्षरस पालना हुनुपर्ने बताए। उनले भने, 'स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन र पेशागत संघ संगठन र मन्त्रालयका अधिकारीबिच स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, स्वास्थ्यलाई संघमा राख्ने, समायोजन लगायत विवीध विषयमा सम्झौता भयो। ती सम्झौता कार्यान्वयन हुनुपर्ने देखिन्छ।’
सहभागी सरोकारवालाहरुले कानुन सम्मत भएको स्तरबृद्धी किन बदर भयो? भन्दै प्रश्न गरे। यस्तै, स्वास्थ्यका कर्मचारीको अभिलेख नभएको गुनासो गरे। स्वास्थ्य सेवा ऐन अलग्गै हुनुपर्ने सहभागीको जोड थियो। स्वास्थ्य राज्य मन्त्री केसीको पहलमा स्वास्थ्य मन्त्रालयमा आइतबार क्रियाशील स्वास्थ्यकर्मीहरुसंग छलफल भएको थियो।