काठमाडौं - नेपाल फार्मास्युटिकल एशोसिएसनले स्वास्थ्य सेवा विभागले आयोजना गरेको ‘मेडिसिन म्यानेजमेन्ट सुपरभाइजर तालिम’ प्रति आपत्ति जनाएको छ।
युएसआइडीको प्रायोजन र काठमाडौं विश्वविद्यालयको सहयोगमा भएको उक्त तालिममा गैर फर्मासिस्टहरुलाई तालिम दिएको भन्दै एशोसिएसनले आपत्ति जनाएको हो। यस किसिमको तालिम गैर फर्मासिस्टलाई दिँदा फार्मेसी पेशा असुरक्षित हुने भन्दै आपत्ति जनाएको एशोसिएसनका महासचिव ललित मोहन पन्तले बताए।
उनले भने, ‘स्वास्थ्य सेवा विभागले आयोजनामा गरेको तालिममा गैर फर्मासिस्टको उपस्थिति छ। हामी फर्मासिस्टहरु कोही छैनौँ। गैर फर्मासिस्टलाई तालिम दिएर के गर्न खोजेको हो ?’
स्वास्थ्य सेवा विभागले गैर फर्मासिस्टलाई औषधि व्यवस्थापन सम्बन्धी तालिम दिएको भन्दै एशोसिएसनले नेपाल फार्मेसी परिषदमा उजुरी समेत दिएको छ। एशोसिएसनले उपलब्ध गराएको उक्त उजुरी पत्रमा परिषदलाई पहल कदमी लिन आग्रह समेत गरिएको छ।
परिषदका रजिष्ट्रार सञ्जीव कुमार पाण्डेयले एशोसिएसनको उजुरी परेको पुष्टि गरे। हाल स्वास्थ्य सेवा विभागलाई तालिम बारे जानकारी लिन पत्राचार समेत गर्ने तयारी भएको उनले जानकारी दिए। सम्बन्धित निकायले जवाफ पठाएपछि पुनः एशोसिएसनसँग छलफल गरिने उनले बताए।
‘गैर फर्मासिस्टलाई तालिम दिएको भन्ने उजुरी आएपछि हामीले सम्बन्धित निकायलाई जानकारीका लागि पत्राचार गर्ने तयारी गरेका छौँ। त्यहाँबाट आधिकारिक जवाफ आएपछि हामी पुनः छलफल गर्छौ।’ उनले भने।
