काभ्रेपलाञ्चोक- काभ्रे जिल्लामा ३ वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमण देखिएको छ। २ हप्ताअघि पाँचखालमा देखिएको डेंगुको संक्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो।
पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेंगुको संक्रमणका कारण धुलिखेल अस्पतालमा २ दिनदेखि उपचारत छन्। पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार संक्रमित ती पुरुषको स्वास्थ्य अवस्था उपचार शुरू गरिएपछि सुधारोन्मुख रहेको छ।
उनले जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्यको टीमले संयुक्तरूपमा सोमवार पनौतीमा भएको संक्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गर्ने बताए। ‘हाम्रो टीमले रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्नेछ,’ उनले भने।
केही दिनअघि सदरमुकाम धुलिखेलमा पनि एक पुरुषमा डेंगु रोगको संक्रमण देखिएपछि उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ। ‘धुलिखेल लगायतको स्थानका डेंगु रोगको संक्रमणको केशमा निकै गम्भीरतापूर्वक अनुसन्धान गर्नेछौं,’ कार्यालय प्रमुख डा। पुरुषोत्तम सेढाईंले भने। उनका अनुसार पाँचखालमा २ हप्ताअघि भेटिएका डेंगु संक्रमित जिल्ला बाहिरका हुन्।
ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगु रोगको संक्रमण भेटिएको थियो। पाँखालमा भेटिएका संक्रमितको काठमाडौंमा उपचार भइरहेको सेढाईंले बताए।
लामो समयपछि पाँचखालमा पहिलो डेंगु रोगको संक्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको सेढाईंले बताए। उनका अनुसार डेंगु रोगको संक्रमणले महामारीको रूप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा जिल्ला स्वास्थ्य कार्यलयको ‘र्यापिड टीम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिने छ। रासस