काठमाडौं- नेपाल मेडिकल काउन्सिलले मास्टर इन पब्लिक हेल्थ (एमपिएच) विषयको पनि नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिने भएको छ। काउन्सिलले यही साउन ७ गते एमपिएचको लाइसेन्स परीक्षा लिन लागेको हो।
काउन्सिलले विशेषज्ञ चिकित्सकहरुका लागि लिने विशेष परीक्षाका क्रममा नै एमपिएचको पनि लाइसेन्स परीक्षा लिन लागेको हो। काउन्सिलले एमबीबीएस अध्ययन पछि एमपिएच अध्ययन गरेकाहरुका लागि लक्षित गर्दै लाइसेन्स परीक्षा लिन लागेको बताइएको छ। तर यसको विरोध भइरहेको छ।
एमपिएचको लाइसेन्स परीक्षा लिने अधिकार काउन्सिलसँग नभएको भन्दै यस विषयमा विरोध भइरहेको हो। एमपिएचका विषयमा लाइसेन्स परीक्षा लिने काम नेपाल स्वास्थ्य व्यवसायी परिषदले गर्छ। 'काउन्सिलले स्वास्थ्य व्यवसायी परिषदको अधिकार आफूमा तान्दै एमपिएचको परीक्षा लिन खोजेको देखिन्छ,' काउन्सिलका एक सदस्यले भने, 'यो सरासर गलत काम हो।'
ती सदस्यका अनुसार यदि अहिले एमपिएचको लाइसेन्स परीक्षालाई मेडिकल काउन्सिलले मान्यता दिने हो भने भोलि एमबीबीएस पछि हेल्थ म्यानेजमेन्टलाई पनि मान्यता दिनु पर्ने होला वा अन्य यस्तै नन् क्लिनिकल विषय पढेकाहरुलाई पनि दिनु पर्ने अवस्था आउन सक्छ।
'मेडिकल काउन्सिलले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर काम गर्न हुँदैन। नन् क्लिनिकल एक वर्षे कोर्ष पढेकालाई समेत मान्यता दिने गरी लाइसेन्स परीक्षा लिनु गलत हो। मेडिकल काउन्सिलले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर किन काम गर्ने?,' ती सदस्यले भने।
विशेष परीक्षाको पूरा सूचना