काठमाडौं - कोरोना संक्रमणदर १२ प्रतिशत नाघेको छ। असार २० गतेसम्म एक प्रतिशतमा रहेको कोरोना संक्रमणदर हाल १२ दशमलव १८ प्रतिशतसम्म पुगेको हो। संक्रमित र कोरोना परीक्षणको यो संख्या चार महिना पछि यताकै सबैभन्दा उच्च हो।
गत २४ घण्टामा ३ हजार ५६९ जनाको परीक्षण हुँदा ४३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार कोरोना संक्रमणदर ९ दशमलव ८२, मंगलबार १० दशमलव ६३, सोमबार ९ दशमलव ८२, आइतबार ४ दशमलव ४३ र शनिबार ६ दशमलव ६३ प्रतिशत थियो।
गत माघ ८ गते नेपालमा कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो। जुन ओमिक्रोन भेटिएपछि यताकै सबैभन्दा उच्च थियो। फागुन महिनाबाट विस्तारै घट्दै गएको कोरोना संक्रमण पुनः बढ्न थालेको छ।
स्वास्थ्य मन्त्रालय र विज्ञहरुले कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरेको छ। तर असार २७ गतेबाट कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुगेको देखिन्छ।
संक्रमितको संख्यासँगै दैनिक रुपमा सक्रिय संक्रमितको संख्या पनि उत्तिकै बढ्दो क्रममा छ। असार २९ गतेबाट संक्रिय संक्रमितको संख्या एक हजार माथि पुग्दै हाल २ हजार माथि पुगेको छ। देशभर हाल २ हजार ५३७ जना सक्रिय संक्रमित छन्।