काठमाडौं- नेपाल मेडिकल काउन्सिलले एक डाक्टरलाई सामाजिक सञ्जालमा लेखेको टिप्पणीलाई लिएर स्पष्टीकरण माग गरेको छ। काउन्सिलले सामाजिक सञ्जालमा काउन्सिलमाथि दोहोरो अर्थलाग्ने गरी अपशब्द र अश्लिल शब्द प्रयोग गरेको भन्दै स्पष्टीकरण सोधेको हो।
गत असार २० गते काउन्सिलले प्रकाशित सूचनामा डा अच्युतप्रसाद भट्टले दोहोर अर्थ लाग्ने गरी अपशब्द र अश्लिल शब्द प्रयोग गरी सामाजिक सञ्जालमा राखेको भन्दै काउन्सिलले स्पष्टीकरण माग गरेको हो।
काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले साउन २ गते उनलाई स्पष्टीकरणको पत्र काटेको बताइएको छ। स्वास्थ्यखबरलाई प्राप्त पत्रको विवरण अनुसार डा भट्टलाई चिकित्सकको आचरण विपरित काम गरे वापत किन कारबाही नगर्ने भनि प्रश्न सोधिएको छ। पत्रमा कारबाही नगर्ने कुनै कारण भए ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।
‘२० असारमा प्रकाशित सूचनाप्रति दोहोरो अर्थ लाग्ने अपशब्द र अश्लिल शब्द प्रयोग गरी अमर्यादित काम गरेको पाइएकोले तपाईंलाई चिकित्सकको आचरण विपरित काम गरेवापत किन कारवाही नगर्ने? यदि कारबाही नगर्ने कुनै कारण भए ७ दिन भित्र आफनो स्पष्टीकरण यस काउन्सिलमा पेश गर्नु हुन व्यावसायिक आचरण तथा स्वास्थ्य समितिको निर्णय अनुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ।