काठमाडौं - नेपाल डेन्टल एशोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङसँग आधारभूत अस्पतालहरुमा ओरल हेल्थ युनिट स्थापना गरी दन्त चिकित्सकको दरबन्दी स्थापित गर्नुपर्ने माग गरेका छन्।
एशोसिएसनले बुधबार स्वास्थ्य मन्त्री खापुङसँग ५, १० र १५ शय्याका आधारभूत अस्पतालहरुमा ओरल हेल्थ युनिट स्थापना गरी दन्त चिकित्सकको दरबन्दी स्थापित गर्नुपर्ने माग गरेका हुन्। आधारभूत अस्पतालमा दन्त स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्ति राख्ने कुरामा गम्भीर त्रुटि भएको भन्दै उनीहरुले मन्त्री खापुङको ध्यानाकर्षण समेत गराएका छन्।
अहिले छलफल र संवादमा केन्द्रित भएपनि माग पुरा नभए संघर्षमा उत्रन बाध्य हुने एशोसिएसनका सचिव डा विश्वप्रकाश ठाकुरले बताए।
उनले भने, ‘ राज्यले वार्षिक पाँच सय दन्त चिकित्सक उत्पादन गर्छ। तर दक्षता अनुरुपको सेवा गर्ने स्थान भने दिँदैन। यो निर्णयले अब भविष्यमा पनि राज्यको र जनताको आवश्यकता अनुसार दन्त चिकित्सक सरकारी सेवा प्रणालीमा नपर्ने निश्चित नै भयो। यसलाई हामी मान्दैनौ।’
दन्त सेवा उपलब्ध हुने स्वास्थ्य संस्थामा दन्त चिकित्सकको दरबन्दी हुनुपर्ने एशोसिएसनका अध्यक्ष डा सुभित मास्केले बताए। हाल आफ्नो माग सम्बोधनका लागि स्वास्थ्यमन्त्री, स्वास्थ्य राज्यमन्त्री र अन्य उच्च तहको संवाद र छलफल चलिरहेको डा हरिप्रसाद ओलीले जानकारी दिए। एशोसिएसनको शाखा कार्यालय हाल १६ जिल्लामा विस्तार भइसकेको छ।