काठमाडौं- जनस्वास्थ्य विषयमा स्नातकोत्तर (एमपिएच) अध्ययन गरेका जनस्वास्थ्य व्यवसायीहरुको नाम दर्ता (लाइसेन्स) परीक्षाका विषयमा पछिल्लो केही दिनयता बहस हुँदै आइरहेको छ। एमपिएचको लाइसेन्स परीक्षा नेपाल मेडिकल काउन्सिलले समेत लिँदै आइरहेको भेटिएपछि यो विषयमा बहस चर्किएको हो।
एमपिएचको लाइसेन्स नेपाल स्वास्थ्य व्यवसायी परिषदले दिने कि नेपाल मेडिकल काउन्सिलले दिने भन्ने विषयमा पक्ष र विपक्ष दुवै तहमा छलफल भइरहेको छ। यही क्रममा नेपाल जनस्वास्थ्य संघले पनि यस विषयमा सार्वजनिक धारणा बाहिर ल्याएको छ।
संघले सरकारकारका दुईवटा निकायबाट एकै विषयको दर्ता परीक्षा हुन नहुने भन्दै एकै निकायबाट हुनुपर्ने धारणा सार्वजनिक गरेको छ। संघले एकै विश्वविद्यालयमा एमपिएच अध्ययन गरेका, समान शैक्षिक योग्यता भएका जनस्वास्थ्य विज्ञहरुको एकै निकायबाट दर्ता तथा गुणस्तर कायम गर्ने व्यवस्था गर्न माग गरेको छ।
संघका अध्यक्ष बसन्त अधिकारीले यो विषयमा अन्यौल देखिएको भन्दै नेपाल स्वास्थ्य व्यवसायी परिषदमा पत्र पठाउँदै प्रष्ट पार्न विभिन्न प्रश्नहरु राखेको छ। संघले विद्यमान ऐन कानुन बमोजिम नेपालमा जनस्वास्थ्य व्यवसायीको दर्ता परीक्षा लिने आधिकारिक निकाय कुने हो? विद्यमान परिस्थितिमा के कारणले जनस्वास्थ्यको एमपिएच विषयमा अध्ययन गरेका जनस्वास्थ्य विज्ञको एकभन्दा बढी निकायहरुमा दर्ता हुन आवश्यकता देखिन्छ? परिषदले कुन कानुनी आधारमा नाम दर्ता परीक्षा सञ्चालन गरेको हो लगायतका प्रश्नका विषयमा प्रष्ट पार्न भनेको छ।
हेरौं पत्र

