काभ्रेपलाञ्चोक- काभ्रेमा दैनिक कोरोना संक्रमणदर बढिरहेको पाइएको छ।
शनिबार १०३ जनामा गरिएको परीक्षणमा २० मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।
अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच संक्रमित फेला परेको हो। कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना संक्रमण देखिएको छ। १३ स्थानीय तहमध्ये सात तहमा संक्रमण देखिएको छ। यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा आठ संक्रमित निको भएको जनाइएको छ। पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाको एक–एक संक्रमित आइसोलेशनमा उपचाररत रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेडाईँले जानकारी दिए।
उनका अनुसार पछिल्लो दिनमा संक्रमणदर बढिरहेकाले परीक्षणको दायरा बढाइँदै लगिनेछ। यस्तै नमोबुद्ध नगरमा छ, बनेपा नगरमा चार र महाभारत गाउँपालिकामा एक संक्रमित रहेका छन्। हाल जिल्लामा कूल ४२ मा संक्रमण रहेको हो।
करिब दुई वर्ष पाँच महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ मा संक्रमण देखिएको छ। यसमध्ये १९५ संक्रमितको मृत्यु भएको छ। रासस