काठमाडौं - चितवनस्थित भरतपुर अस्पतालले आइतबारदेखि ओपिडी सेवा निःशुल्क गरेको छ। सबैलाई आधारभूत स्वास्थ्यको पहुँचमा पुर्याउने उद्देश्य सहित भरतपुर अस्पतालले ओपिडी टिकट बापतको शुल्क नलिने भएको हो। यसअघि भरतपुर अस्पतालमा ओपिडी टिकट शुल्क ३० रुपैयाँ थियो।
सामान्य स्वास्थ्य परीक्षण गराउन सबै प्रेरित गराउनका लागि पनि ओपिडी सेवा निःशुल्क गरिएको अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्टेण्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए।
उनले भने, ‘आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्य सहित हामीले ओपिडी सेवा निःशुल्क गरेका हौँ। सामान्य स्वास्थ्य परीक्षण गराउन अब यहाँ कसैले ओपिडी शुल्क तिर्नु पर्दैन।’
भरतपुरमा अस्पतालको ओपिडीमा हाल १२ सय देखि १५ सय बिरामीहरु उपचार सेवा लिन पुग्छन्।