कञ्चनपुर- रुखबाट लडेर ‘स्पाइनल इन्जुरी’(मेरुदण्डको चोट) भएकी शुक्लाफाँटा नगरपालिका–५ खजुवाका ५१ वर्षीय मनोरीदेवी साउद उपचारका अभावमा आठ महिनादेखि ओछयान छन्।
गत पुस १७ गते गाईगोरुका लागि स्याउला काट्ने क्रममा रुखबाट लडेर उहाँलाई ‘स्पाइनल इन्जुरी’ भएको हो। परिवारजनले धेरै ठाउँमा उपचार गराए पनि ठीक भएको छैन। “काठमाडौँदेखि भारतको नयाँ दिल्लीसम्म उपचारका लागि पु¥याए पनि ठीक हुन सकेको छैन”, मनोरीका श्रीमान् नरेन्द्रले भने, “विस्तारामै खाना खुवाउनेदेखि दिसापिसाबसमेत सफा गर्नुपर्ने अवस्था छ।” मासिकरुपमा रु २० हजार बढीको औषधिमै खर्च गर्नुपर्ने अवस्था रहेको उनले गुनासो गरे।
“भारतमा काम गर्थे घरको खर्च चल्थ्यो”, नरेन्द्रले भने, “श्रीमती रुखबाट लडेर थला परेपछि घर खर्चसँगै उपचार खर्च चलाउन निकै धौधौ भएको छ।” हालसम्म उपचारमा रु २५ लाख बढी खर्च भएको र त्यसमध्ये रु १२ लाख कर्जा लिएर उपचार गरिएको उनले बताए। भएको सबै रकम उपचारमा खर्च भइसकेपछि साउद परिवार औषधीका रकम जुटाउन सक्ने अवस्थामा छैन। “एकातर्फ छोराछोरीको पढाइ खर्च चलाउनुपर्ने अस्था छ”, नरेन्द्रले भने, “अर्कोतर्फ ओछ्यान परेकी श्रीमतीको उपचार खर्च जुटाउनुपर्ने आपद् आइलागेको छ।”
कर्जा पाउने सबै ठाउबाट पैसा मागेर उपचारमा खर्च गरी सकेपछि कोही पनि अब कर्जा दिनसमेत तयार नभएको उनले दुःखेसो पोखे। श्रीमतीको थप उपचारका लागि उहाँले दातृ निकायसँग आग्रह गरे। वडाध्यक्ष चक्रबहादुर खड्काले ओछ्यान परेकी उनको उपचारका लागि व्यक्तिगतरुपमा रु १० हजार सहयोग गरेको बताए। रासस