चितवन- नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ। अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो।
आइतबार साँझ यहाँ आयोजित एक कार्यक्रममा युनाइटेड रजिष्ट्रार्ड (युआर) का देशीय निर्देशक प्रकाश पौडेलले नेपाल नेत्रज्योति सङ्घ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई प्रमाणपत्र हस्तान्तरण गरे।
सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तर पाउनु खुसीको कुरा भएको बताइन्। अस्पतालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिको कामना गर्दै प्रमुख दाहालले यो चिह्न प्राप्तिसँग चुनौती थपिएको बताइन्। उनले भनिन्, “यो गुणस्तर चिह्नले भरतपुरलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएको छ।”
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले अस्पतालले प्राप्त गरेको अन्तर्राष्ट्रिय गुणस्तर चिह्न खुसीको विषय भएको बताउँदै यो खुशियालीलाई कायम राख्नुपर्ने बताइन्। नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरतबाबु चन्दले अस्पतालको सेवामा अझै गुणस्तरीयता विस्तार गर्नुपर्ने बताए।
अस्पताल सञ्चालक समितिका अध्यक्ष धरेलले लामो समयको अथक प्रयासपछि अन्तर्राष्ट्रियस्तरको गुणस्तर चिह्न आइएसओ ९००१ः२०१५ प्राप्त गर्न सफल भएको बताए। उनले भने, “गुणस्तरीय व्यवस्थापन रहेकै कारण हामीले यो चिह्न प्राप्त गरेका हौँ।” उनले अस्पताल स्थापनाकालदेखि हालसम्म अस्पतालको विकासमा क्रियाशील रहनुहुने नेपाल नेत्रज्योति सङ्घका पूर्व र वर्तमान अध्यक्ष, पदाधिकारी तथा सदस्यज्यूहरु, अस्पताल सञ्चालक समिति, चिकित्सक, कर्मचारी तथा दाताप्रति विशेष धन्यवाद ज्ञापन गरे।
सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल विसं २०४४ चैत १८ गते स्थापना भएको हो। ३५ वर्षमा अस्पतालले २३ लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ। त्यसमध्ये २२ लाख २० हजार ८६३ लाई बहिरङ्ग सेवा दिएको छ भने एक लाख सात हजार ६३६ को शल्यक्रिया गरेको छ। रासस