काठमाडौं- नेपालमा ३४ जना हैजाका बिरामी भेटिएका छन्।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुलुकमा कोभिड महामारीसँगै ३४ जना हैजाका बिरामी भेटिएका हुन्।
हैजाका बिरामी काठमाडौँ उपत्यकामा दुई र नुवाकोटमा ३२ गरी ३४ भेटिएका छन्। दुईदेखि ६९ वर्ष उमेर समुहका २० पुरुष र १४ महिलामा हैजा देखिएको हो।
कसरी जोगिने?
स्वास्थ्य मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए।
उनले प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धिकरण गरेर र उमालेर खान मात्र अनुरोध गरे। अहिलेसम्म १२ जनामा हैजा देखिएको मन्त्रालयले जनाएको छ। दूषित खानेपानी कारणले हैजा देखिएको छ।
झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसापिसाब गर्ने, दिसापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुने, खाना बनाउने, खुवाउने र खाना खानुअघि साबुन पानीले मिचिमिची हात धुने, पानी उमालेर वा फिल्टर गरेर पिउने वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने गर्न आग्रह गरिएको छ। यस्तै बासी, सडेगलेको झिँगा भन्केको खानेकुरा नखान र खानेपानीको मुहान सफा र सुरक्षित राख्न पनि आग्रह गरिएको छ।