काठमाडौं- सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सञ्चालक समितिमा दुई जना सदस्य मनोनित गरेको छ। समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी र कार्डियाक सर्जन डा नविनचन्द्र गौतमलाई सदस्यमा मनोनित गरेका हुन्।
दुई जना सदस्य मनोनित भएसँगै गंगालाल हृदय केन्द्र सञ्चालक समितिले पूर्णता पाएको छ। एघार सदस्यीय सञ्चालक समितिमा दुई जना सदस्य रिक्त थिए। मन्त्री खापुङले सोमबार उनीहरु दुईजनालाई मनोनित गरेको मन्त्रीको सचिवालयले जनाएको छ।
सदस्यको पदावधी चार वर्षको हुनेछ।
समितिमा काठमाडौं क्षेत्र नम्बर ५ का एमाले सांसद ईश्वर पोखरेल, स्वास्थ्य सचिव डा रोशन पोखरेल, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, हार्ट टू नेपालका विजय राई, डा युवराज लिम्बू, काठमाडौ विश्वविद्यालयका डीन डा राजेन्द्र कोजु, महिला प्रतिनिधिको रुपमा विना दवाडी सदस्य छन्। अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारी समितिको सदस्य सचिव हुन्।