काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको सचिवालले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियालाई आर्थिक अनियमितता गरेको विषय के हो भन्दै स्पष्टीकरण सोधेको छ।
राज्यमन्त्रीको निजी सचिव वीर सिंह राईद्वारा हस्ताक्षरित पत्रमा १० अर्बको औषधि-उपकरण खरिदमा अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनम सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको लगायतका विषयमा के भएको हो? वास्तविकता के हो? भनेर जवाफ माग गरिएको छ।
राज्यमन्त्री केसीको निजी सचिवालयले व्यवस्थापन महाशाखालाई पत्र पठाउँदै डा चौरसियालाई आज मंगलबार अपरान्ह ५ बजे भित्र राज्यमन्त्री केसी समक्ष उपस्थित भई जवाफ दिन भनेको छ।
'१० अर्बको औषधि उपकरणहरु खरीदमा व्यापक अनियमिता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेसलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको, यस्तै ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित प्रति राज्यमन्त्रीको ध्यानाकर्षण भएको,' पत्रमा उल्लेख छ।