काठमाडौं- नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्योपचारलगायत विषयमा सम्झौता भएको छ। सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थाबाट उद्धार गरेर आश्रमको संरक्षणमा राखिएका व्यक्तिलाई अस्पतालले उपचार गर्ने सम्झौतामा उल्लेख छ। सम्झौतापत्रमा अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर प्रहरी अतिरीक्त महानिरीक्षक डा आशा सिंह र आश्रमका तर्फबाट संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरे।
सम्झौता पश्चात् अस्पतालले विपन्न नागरिक उपचार कार्यविधि–२०७९ अन्तर्गत आश्रमको संरक्षणमा रहेका व्यक्तिलाई तीन शैय्या उपलब्ध गराउने भएको छ। उक्त सम्झौतापछि अब बेसहारा नागरिकलेसमेत निःशुल्क रुपमा उपचार प्राप्त गर्न सक्ने छन् ।साथै अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीका लागि भर्ना भइसकेपश्चात् औषधिलगायत सामग्री निःशुल्क उपलब्ध गराइने भएको छ। मेडिकल डाइरेक्टर सिंहले मानवीय सेवाको कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।
“जीवनरक्षाका लागि कार्य गर्दै आइरहेका थियौँ। यसमा थप सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा रहेका व्यक्तिको जीवन पनि बचाउन पाउनु हाम्रा लागि पनि खुसीको कुरा हो। आगामी दिनमा उक्त आश्रमको सेवामा संस्थागत र व्यक्तिगत रुपमा मेरो तर्फबाट साथ रहने कुरामा प्रतिबद्ध छु ,” उनले थपे। रासस