काठमाडौं- प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेका सचिव योगेशकुमार भट्टराईले विश्वलाई आक्रान्त बनाइरहेको मंकीपक्सको जोखिम नेपालमा हुन नदिन आवश्यक पूर्व तयारी अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा महत्वपूर्ण सार्वजनिक महत्वको विषयबारे समय मागेर बोल्दै उनले मंकीपक्स जनस्तरमा सचेतना फैलाउन र सीमा नाकामा कडाइ गर्न सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘‘मङ्कीपक्सले विकसित मुलुकलाई आक्रान्त तुल्याएको छ। नेपाल सरकारले यसबारे सार्वजनिक ढङ्गले सुसूचित गरेको छैन। सीमामा साइनबोर्ड, विमानस्थलमा सचेतना सन्देश राखिएको छैन । खुला सिमाना भएकाले भारतमा समेत देखिइसकेकाले बेलैमा पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन सरकारसमक्ष माग गर्दछु”, भट्टराईले भने।
उनले काठमाडौँ उपत्यकामा हैजाको जोखिम बढेको भन्दै आवश्यक सुरक्षा सतर्कता अपनाउनेबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराए। काठमाडौँ उपत्यकामा ३४ जना हैजाका बिरामी भेटिइसकेका छन् भन्दै उनले समुदायस्तरमा हैजाको महामारीको रुप लिन नदिन राजधानी उपत्यकाका सबै खानेपानी र पिउने पानीका मुहानको गुणस्तरमापन परीक्षण गरेर जनस्तरमा सचेतना फैलाउन जरुरी भएको उल्लेख गरे।
सांसद भट्टराईले कोभिडको नयाँ प्रजाति देखिएकाले त्यसको नियन्त्रणबारे सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरे।