काठमाडौं - सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले यही साउनको अन्तिमदेखि हेमोडायलाइसिसका क्रममा प्रयोग हुने औषधि बजारमा ल्याउँदैछ।
हेमोडायलाइसिस गरिरहेका मिर्गौलाका बिरामीका लागि प्रयोग हुने पाउडर र लिक्विड (तरल) गरी दुई किसिमको औषधि उत्पादन गर्ने तयारी भएको लिमिटेडले जनाएको छ। यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले असार २२ गते हेमोलायलाइसिस शाखाको उद्घाटन गरेका थिए।
औषधि उत्पादनको लागि आवश्यक पर्ने सबै उपकरण आइसकेपनि त्यसलाई जडान गर्ने काम भइरहेको लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले जानकारी दिए।
उनले भने, ‘सबै उपकरणहरु आइसकेको छ। ती उपकरणहरु सेट गर्ने काम भइरहेको छ। यही साउनको अन्तिमबाट हामी कमर्सियल रुपमा जान्छौँ।’
दैनिक ८ सय युनिटदेखि आवश्यकता अनुसार १६०० युनिटसम्म डायलासेट उत्पादन गर्ने गरी शाखा सञ्चालनमा ल्याइएको सफिउल्लाहले बताए। हेमोडायलाइसिसको उपचार लिनुपर्ने बिरामीले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुका साथै हेमोडायलाइसिसको नि:शुल्क उपचारमा थप सहयोग पुग्ने लिमिटेडको विश्वास छ।