सुर्खेत- नेपालमा सबैभन्दा धेरै रक्तदान गर्ने प्रेमसागर कर्माचार्यले बिहीबार सुर्खेत पुगेर १७१ औँ पटक रक्तदान गरेका छन्।
स्वयंसेवी रक्तदाता समाजको जिल्ला शाखा विस्तार गर्न कर्माचार्य सुर्खेत पुगेका थिए। सोही अवसरमा सुर्खेत उद्योग वाणिज्य संघले विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा नै कर्माचार्यले १७१ औं पटक रक्तदान गरेका हुन्।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालको प्रमुख अतिथिमा आयोजित कार्यक्रममा सतक रक्तदाता कर्माचार्यलार्य प्रमुख अतिथि बनेकी ढकालले रक्तथैली हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेकी हुन्।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतको प्राविधिक सहयोगमा भएको कार्यक्रममा महिला तथा पुरुष गरी ९१ जनाले रक्तदान गरेका छन्।
सो अवसरमा स्थानीय महिला रक्तदाताहरू ज्योती कार्की पौडेल र कृति गुभाजु शाक्य तथा कर्णाली प्रदेशमा सर्वाधिक रक्तदान गरेका प्रवाशकुमार शाक्यलाई पनि सम्मान गरिएको छ।
यस्तै उद्योग वणिज्य संघ र जिल्ला रेडक्रसले सबैभन्दा बढी पटक रक्तदान गरेका रगत अभियन्ता कर्माचार्यलाई विशेष सम्मान गरेको थियो ।
सुर्खेत उद्योग वाणिाज्य संघका अध्यक्ष लक्ष्मण कँडेलको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निरक केसी, निवर्तमान अध्यक्ष धनबहादुर रावत, नेरेसोका अध्यक्ष रामलाल आचार्य र गोविन्द आचार्यको समेत उपस्थिति थियो।
प्रवाशकुमार शाक्यको अध्यक्षतामा जिल्ला शाखा गठन
यसैगरी, नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत जिल्ला शाखा गठन भएको छ। ५६ औँ राष्ट्रिय रक्त सञ्चार दिवसको अवसर पारेर बिहीबार वीरेन्द्रनगरमा आयोजित भेलाले कर्णाली प्रदेशमै सबैभन्दा धेरै पटक रक्तदान गर्ने रक्तदाता प्रवाशकुमार शाक्यको अध्यक्षतामा जिल्ला शाखा गठन गरेको हो।
भेलाले शाखाको उपाध्यक्षमा अशोक कुमार सिंह, सचिवमा खगेन पुरी र कोषाध्यक्षमा धर्मराज आचार्यलाई चयन गरेको छ । यस्तै सदस्यहरूमा पुनम बिसी, सागर लम्साल, कुमार थापा, भोजप्रसाद आचार्य, सुरेश आचार्य, अनिल ढकाल, सञ्जयनाथ योगी, कृति गुभाजु शाक्य र चन्द्रा रेग्मी चयन भएका छन्।
यस्तै भेलाले शाखाको सल्लाहकारमा सुदर्शन श्रेष्ठ, लक्ष्मण कँडेल र सुशिलराज शर्मालाई मनोनित गरेको छ।