काठमाडौं- जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन्। स्वास्थ्य बीमा निजी कम्पनीलाई दिन खोजेर आलोचना खेपेका शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त भएका छन्। बजेट भाषणको क्रममा स्वास्थ्य बीमालाई निजी कम्पनीमार्फत चलाउने बुँदा राखपछि उनको तिब्र आलोचना भएको थियो।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेर विवादित भएपछि उनले गत असार २२ गते प्रतिनिधि सभाबाट राजीनामा घोषणा गरेका थिए।
शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले गत शुक्रबार शर्मालाई 'क्लिन चिट' दिँदै प्रतिनिधि सभासमक्ष प्रतिवेदन पेश गरेको थियो। शर्मामाथि लागेको आरोप प्रमाणित नभएपछि उनलाई नै पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिइएको हो।
शर्माको नियुक्तिबारे आइतबार राष्ट्रपति कार्यालयले भनेको छ- 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नु भएको छ।'