काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीवि र धनाढ्य व्यक्तिहरुबाटै बच्चालाई स्तनपान गराउने कुरामा लापरबाही भइरहेको बताए।
मंगलबार प्रसूतिगृह थापाथलीमा ‘बेबी मिल्क’ बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता बताएका हुन्।
मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामापछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेशभन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गरे।
उनले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरु बस्ने बागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको बताए।
उनले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएकोले बच्चाको नैसर्गिक अधिकार हनन गर्नु नहुने बताए।
मन्त्री खापुङले सहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको उल्लेख गरे।