धनगढी– कैलालीको धनगढीस्थित नवजीवन अस्पतालले डायलाइसिस मेसिनसहित मिर्गौला बहिरंग सेवा विस्तार गरेको छ। मार्क इन्टरनेशनल किड्नी सेन्टर, नवजीवन अस्पतालको सहयोगमा सुदूरपश्चिम इन्टरनेशनल डायलाइसिस सेन्टरका नामबाट अस्पतालमा मंगलबारदेखि सो सेवा विस्तार गरिएको हो।
अस्पतालले हाललाई छवटा डायलाइसिस मेसिन जडान गरेर उपचार सेवा शुभारम्भ गरेको अस्पतालका कायकारी निर्देशक डाक्टर निरज अर्यालले जानकारी दिए। उनले भने, ‘केही मेसिन आउन बाँकी छ। हामीले अस्पतालमा अहिले १० वटा मेसिन राखेर सेवा दिनेछौं। विस्तारै आवश्यकता अनुसार थप गर्दै लगिने छ।’
अस्पतालले तीनजना मिर्गौला रोग विशेषज्ञबाट सो सेवा सुरुआत गरेको छ। अस्पतालमा मिर्गौला रोग विशेषज्ञ डाक्टर अर्चन शम्शेर राणा, डाक्टर बीर बज्रचार्य र डाक्टर दिवाकर मान्नधरबाट सेवा प्रदान गरिने जनाइएको छ।
डाक्टर राणाले भने, ‘विशेषज्ञ चिकित्सकभन्दा पनि डायलाइसिसमा खटिने जनशक्ति दक्ष हुनुपर्छ।’ उनले मासिक एक सय २० देखि एक सय ५० जनासम्मलाई सेवा प्रदान गर्न सकिने बताए।
उनका अनुसार अस्पतालले सो सेवा विस्तारका लागि अनुमानित पाँच करोड लगानी गरेको छ।