काठमाडौं- निजामती कर्मचारी अस्पतालले अनलाइन (विद्युतीय) माध्यमबाट भुक्तानी सेवाको सुरुआत गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले अनलाइन माध्यमबाट भुक्तानी सेवाको आज सुरुआत गरे। अनलाइनबाट भुक्तानी सेवाको सुरुआत गरेपछि अब सेवाग्राहीले मोबाइल बैंकिङबाट अस्पतालको स्वास्थ्य सेवाबापतको पैसा तिर्न सक्नेछन्।
अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले सूचना प्रविधिलाई प्रयोग गरेर छिटोछरितोका लागि भुक्तानी सेवा सुरुआत गरिएको जानकारी दिए। अनलाइन सेवा अस्पतालको वेभसाइट वा एपबाट सेवाग्राहीले पाउने छन्।
यस्तै अस्पतालले ५० प्रतिशत टिकट पनि अनलाइनबाट नै काट्ने व्यवस्था मिलाएको अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिए। उनका अनुसार अनलाइनबाट काटिने ५० प्रतिशतमा पनि आधा निजामती कर्मचारी र आधा सर्वसाधारणका लागि छुट्याइएको छ। ५० प्रतिशत टिकट भनेर लाइन लागेर काट्ने व्यवस्था गरिएको छ। यसअघि २५ प्रतिशत टिकट अस्पतालले अनलाइनबाट काट्ने व्यवस्था गरेको थियो।
यस्तै अस्पतालले टिकट काटिसकेका बिरामीको चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउने पालो पनि अब ‘डिस्प्ले’मार्फत हेर्न सकिने व्यवस्थासमेत गरिएको छ। बिरामीको पालो डिस्प्लेमा देखाएअनुसार चिकित्सकलाई आफ्नो स्वास्थ्य परीक्षण गराउनेछन्।
डिस्प्लेमा अस्पतालमा कुन चिकित्सक कति नम्बर कोठामा, शय्या कति खाली र कति भरिएका छन् भन्ने कुराको जानकारीसमेत दिइएको उनले जानकारी दिए।