काठमाडौं- मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटर मेसिन नेपाल आइपुगेको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरका लागि करिब तीन सय वटा अक्सिजेनेटर मेसिन नेपाल आएको हो। गंगालाल अस्पताल तथा अन्य अस्पतालका लागि चाहिने थप १४ सय वटा मेसिन भने आउने क्रममा रहेको छ।
करिब तीन सयवटा मेसिन नेपाल भित्रिएसँगै नेपालमा मेसिन अभवमा रोकिएको शल्यक्रिया सेवा सुरु हुने विश्वास गरिएको छ। मनमोहन सेन्टरका लागि आएको अक्सिजेनेटर मेसिन गंगालाललाई प्रयोगका लागि उपलब्ध गराइने र गंगाललामा आएपछि मनमोहनलाई उपलब्ध गराइने बताइएको छ।
अहिले नेपालमा तीन सय वटा मेसिन म्याक्स मेडिटेक सिस्टमले नेपाल ल्याएको हो। म्याक्स मेडिटेकका प्रवन्ध निर्देशक बिमल उप्रेतीका अनुसार नेपालमा मेसिन अभाव भएपछि कम्पनीले हवाइ मार्गबाट छिटोभन्दा छिटो मेसिन नेपाल ल्याएको हो।
'सामान्यतया हाम्रो सामान नियमित प्रक्रिया अनुसार जमिन मार्गहुँदै आउने थियो,' उनले भने, 'तर नेपालमा मेसिन सकिएर शल्यक्रिया रोकिएपछि हामीले बिरामीले छिटोभन्दा छिटो सेवा पाउन भनेर हवाइ मार्गबाट मेसिन नेपाल भित्र्याएका हौं।'
म्याक्स मेडिटेक्सले ल्याएको तीन सय मेसिनसँगै तत्कालका लागि समस्या टरेको मनमोहन सेन्टरका एक चिकित्सकले जानकारी दिए। 'अहिलेलाई हामीले गंगालालका लागि केही मेसिन पैँचोमा दिँदैछै,' ती चिकित्सकले भने, 'उहाँहरुका लागि पनि छिट्टै मेसिनहरु आउँदैछ। उहाँहरुको आएपछि हामीले दिएको संख्याका मेसिन हामीलाई दिनुहुन्छ।'
गंगालाल अस्पतालका अनुसार हस्पिटेक इन्टर प्राइजेजबाट थप १४ सय मेसिन आउने क्रममा छ। सम्भवत अबको दुई सातामा ती मेसिन नेपाल आइसक्ने गंगालालका कर्मचारी बताउँछन्।
अक्सिजेनेरेटर अभाव हुँदा गंगालाल अस्पतालको शल्यक्रिया रोकिएको थियो। शल्यक्रिया रोकिँदा अस्पतालले ४५ जना भर्ना भएका बिरामीलाई घर पठाएको थियो। शल्यक्रिया रोकिएपछि गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले गंगालाल अस्पतालमा मात्र नभई नेपालका अन्य अस्पतालसँगै भारत लगायतका देशमा पनि अक्सिजेनेटरको अभाव भएको जानकारी दिएका थिए। उनले कोरोना महामारी र युक्रेन रसिया युद्धका कारण पनि मेसिनको आपूर्ति रोकिएको र अभाव भएको बताएका थिए।
अक्सिजेनेटर मेसिनले मुटुको शल्यक्रिया गर्दा रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ। मुटुको शल्यक्रियाका क्रममा मुटु र फोक्सोको काम उपकरणको सहयोगमा कृत्रिम रुपमा सञ्चालन गर्नुपर्छ। तर गंगालाल प्रशासनले शल्यक्रियाका क्रममा चाहिने अक्सिजेनेटर खरिदमा आलटाल गर्दा बिरामी समस्यामा परेका हुन्।
अक्सिजेनेटर उपकरण एक बिरामीमा एक पटक मात्र प्रयोग गरिन्छ। यो उपकरणको मूल्य ५० हजारसम्म पर्ने बताइएको छ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटर मेसिन कुटनीतिक पहल गरेर भए पनि छिटोभन्दा छिटो ल्याउन सरकारलाई सुझाव दिएको थियो। समितिको साउन ६ गते शुक्रबार बसेको बैठकले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने उक्त उपकरण नेपाल ल्याउन आवश्यक पर्ने कानुनी सहजीकरणका लागि पनि सरकारलाई सुझाव दिएको थियो।