मकवानपुर- बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका हेमोफिलियाका बिरामीका लागि एन्टिहेमोफिलिक फ्याक्टर हस्तान्तरण गरेको छ। मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा भएको एक कार्यक्रममा प्रदेशको स्वास्थ्यमन्त्री निमा लामाले हेमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेलाई हेमोफिलिक फ्याक्टर आज हस्तान्तरण गरे।
कार्यक्रममा उनले बागमती प्रदेश सरकारबाट प्राप्त सहयोगको औषधि हेमोफिलियाका बिरामीका लागि सहजैरूपमा उपलब्ध गराउन हेमोफिलिया सोसाइटीलाई आग्रह गरे। लामाले प्रदेश सरकार यस्तैखाले अन्य रोगका बिरामीका लागि औषधि र उपचारको व्यवस्था गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। उहाँले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले औषधि एवं उपकरण खरिदका लागि बजेट विनियोजन गरिसकेकाले खरिद प्रक्रिया अघि बढिसकेको बताए।
आपूर्ति केन्द्रबाट सोसाइटीलाई एक हजार १ सय ३० भाइल औषधि उपलब्ध गराएको आपूर्ति केन्द्रका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिए। हस्तान्तरण गरिएको सो औषधिको मूल्य करिब रु एक करोड रहेको जनाइएको छ। देशभर हेमोफिलियाका सात सय ८० र बागमती प्रदेशमा २० महिलासहित दुई सय ५० बिरामी रहेको जनाइएको छ। औषधि अभावमा गत वर्ष चार जनाको मृत्यु भएको सोसाइटीले जनाएको छ।
कार्यक्रममा स्वास्थ्य आपूर्ति केन्द्रका वरिष्ठ जनस्वास्थ्य निर्देशक शम्भु काफ्लेले प्रदेश स्वास्थ्य निर्देशनालय पनि यस्ता कार्यक्रममा सहजीकरण गर्न तयार रहेको उल्लेख गरे।