फाइल तस्बिर
रामपुर (पाल्पा)- भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ। सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी रुपमा बहिरङ्ग कक्ष व्यवस्थापन गरी सेवा दिइएको छ।
बन्दै गरेको नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताउँछन्। उनका अनुसार नयाँ भवनमा बहिरङ्ग सेवा सुरु भएपछि हाल एक सयभन्दा बढी सेवाग्राही थपिएका छन्। साँघुरो भवनको बाहिर घण्टौँसम्म लाइन लागेर बिरामी पालो कुरेर बस्नुपथ्र्यो कतिपय बिरामी पालो पर्खन अप्ठ्यारो मानेर स्वास्थ्य जाँच नै नगरीकन पनि फर्कन्थे।
“नयाँ भवनमा सेवा सुरु गरेपछि बिरामीको चाप ह्वात्तै बढेको छ, पुरानो सानो भवनमा रहँदा चिकित्सकलाई सेवा दिन र सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो स्थिति रहेको थियो, अहिले अस्पताल भित्रै सेवाग्राहीलाई बस्ने व्यवस्था मिलाइएको छ”, अस्पताल प्रमुख पोखरेलले भने।
नयाँ भवनको पहिलो तलामा सञ्चालन भएको सेवा नागरिकले सहज रुपमा लिन पाएका छन्। बिरामीलाई आरामदायी बस्ने व्यवस्था, टिभी, खानेपानी लगायतको सुविधा उपलब्ध छ। यसले गर्दा बिरामी धैर्य गरेर पालो पर्खेर स्वास्थ्योपचार सकेर फर्कने गर्दछन्।
पुरानो भवनमा दैनिक दुई सयदेखि दुई सय ५० बिरामी आउने गरेकामा हाल नयाँ भवनमा सरेपछि तीन सयदेखि तीन सय ५० सम्म बिरामी उपचाररत रहेको अस्पतालले जनाएको छ। आकस्मिक सेवामा पनि बिरामी बढिरहेका छन्। दैनिक ३० देखि ४० आउने गरेको पाइएको छ। सेवाग्राहीलाई सहज रुपमा सेवा दिन अस्पतालका चिकित्सक, कर्मचारी र समितिको समन्वयमा भवनको पूरा काम नसकिँदै सेवा पुनः सञ्चालन गरेको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउँछन्। रासस