काठमाडौं- पाँचथर सदरमुकाम फिदिममा भर्खरै सञ्चालनमा आएको गणेशमान सिंह सामुदायिक अस्पतालमा प्रसूति गराएकी महिलाको मृत्युपछि छानबिन गर्न समिति गठन गरिएको छ।
छानबिन समिति संयोजकका रुपमा पाँचथर अस्पतालका निमित्त प्रमुख बरुण अग्रवाललाई तोकिएको छ। गत शनिबार सो अस्पतालमा सुत्केरी भएकी फिदिम नगरपालिका ६ की १९ वर्षीया करिना फागोको आइतबार विहान निधन भएको थियो।
परिवार तथा आफन्तले मृत्यु हुनुको कारण अस्पताल तथा स्वास्थ्यकर्मी दोषी रहेको बताउँदै आएका छन्। सुत्केरीको मृत्युपछि आफन्तले होहल्ला र नाराबाजी गर्दै आएका थिए।
अपरान्हतिर जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आफन्त र अस्पताल सञ्चालकसहित बसेको सर्वपक्षीय बैठकले छानविन समिति गठन गर्ने निर्णय गरेको हो।
सोही बैठकले मृतकको परिवारलाई अस्पतालले १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति गरेको छ। सो सहमतिसंगै आफन्तले शव बुझ्ने भएका छन्।
अस्पताल प्रशासनले मृतकका आफन्तलाई किरिया खर्चस्वरुप तत्काल ५ लाख र नवजात शिशुको शिक्षादीक्षाका लागि बैंक खाता खोलेर थप पाँच लाख गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेलगत्तै शव बुझ्ने बुझाउने प्रक्रिया सुरु हुने सञ्चालक सन्तोष श्रेष्ठले जानकारी दिए।