काठमाडौं - नेपालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको १४ वर्ष पूरा भएको छ। त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा १४ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो। १४ वर्षको यो अवधिमा त्रिवि शिक्षण अस्पतालमा ७१५ जनाको मिर्गौला प्रत्यारोपण भएको छ।
त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको १४ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा हालसम्म ७१५ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिइएको छ। कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)की डीन एवं मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाहले १४ वर्ष अघि मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सहज नभएको बताइन्।
उनले भनिन्, ‘मिर्गौलाको प्रत्यारोपण सेवा सुरु गर्ने बेला केही परीक्षण गर्नु परेपनि बाहिर पठाउनु पर्थ्यो। औषधिहरु बाहिरबाट ल्याउनु पर्थ्यो। कुर्नु पर्थ्यो। समय लाग्थ्यो। पूर्वाधारको समस्या थियो। तर अहिले धेरै सहज भएको छ।’
१४ वर्ष अघि डा दिव्या सिंहकै सक्रियतामा अस्पतालमा पहिलो पटक मिर्गौलाको प्रत्यारोपण भएको थियो। काठमाडौं बुढानिलकण्ठका ३६ वर्षीय एक पुरुषलाई उनको श्रीमतीले प्रत्यारोपणका लागि मिर्गौला दान गरेकी थिइन्।
मिर्गौला प्रत्यारोपणको सेवा अझै पनि विस्तार र सहज बनाउन जरुरी रहेको उनले बताइन्। पूर्वाधारदेखि दक्ष जनशक्तिको विस्तारमा अस्पतालले अझै काम गर्न आवश्यक रहेको उनको भनाई छ।
‘जति संख्यामा मिर्गौला प्रत्यारोपण हुनुपर्ने हो। यो अस्पतालमा त्यति हुन सकेको छैन। पूर्वाधार विकासको आवश्यक छ। यो सेवालाई देशभर विस्तार गरी अझ फराकिलो र सहज बनाउनुपर्ने देख्छु,’ उनले भनिन्।
मिर्गैला रोगका बिरामीहरु वर्षेनी बढीरहेको बताउँदै उनले सरकार यसको रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभए मिर्गौला रोग प्रकोपको रुपमा देखा पर्न सक्नेमा उनको चिन्ता छ। मिर्गौला रोगका बिरामीको संख्या बढ्दै गए राज्य माथि नै आर्थिक भार पर्न सक्ने उनले बताइन्।
कार्यक्रममा आइओएमका डीन प्राडा प्रेमराज ज्ञवालीले मिर्गौला प्रत्यारोपणकै लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य भएको बताए। अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले मिर्गौला प्रत्यारोपणको सेवालाई उत्कृष्ट र नमूनाको रुपमा विकास गरिने बताए।