काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले महाराजगन्ज चिकित्सा क्याम्पसमा एमबीबीएस, बी फार्मेसी लगायतका विषयको सिट संख्या घटाउन भन्दै चिकित्सा शिक्षा आयोगलाई पत्र पठाएको छ।
आयोगले महाराजगन्ज चिकित्सा क्याम्पसलाई गत वर्ष एमबीबीएसका लागि एक सय सिट निर्धारण गरेको थियो। यस वर्ष पनि आयोगले एक सय सिट नै निर्धारण गरेको छ। क्याम्पसले सुरुमा डीन कार्यालयमा र त्यसपछि डीन कार्यालयबाट आयोगमा सिट घटाउन पत्र पठाइएको थियो।
आइओएमले सम्बन्धन दिएका निजी मेडिकल कलेजले एक सय सिट पाएका छन्। तर ती निजी मेडिकल कलेजभन्दा पनि बढी फ्याकल्टी र क्षमता भएको महाराजगन्ज मेडिकल क्याम्पसले भने एमबीबीएसमा किन सिट संख्या घटाएर ७६ मात्र तोक्न भन्यो?
आयोगका योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक डा रमेशप्रसाद अधिकारीका अनुसार आइओएमले महाराजगन्ज क्याम्पसमा कक्षाकोठा र शिक्षक लगायतका कुराहरुको अभाव भएकाले सिट संख्या घटाउन भनेको छ।
'महाराजगन्ज मेडिकल क्याम्पसलाई हामीले पोहोर सालबाट सय सिट दियौं। यो साल उनीहरुले ७५ कि ७५ गराइदिनुस् बरु ७६ गराइदिनुहोस् १०० नगराइदिनुहोस् भन्नुभएको छ,' उनले भने, 'महाराजगन्ज मेडिकल क्याम्पसले हाम्रोमा सय सिटका लागि पर्याप्त कक्षाकोठा छैन भन्यो। यसमा हाम्रो र क्याम्पसको टसल चलिरहेको छ।'
आयोगले महाराजगन्ज क्याम्पसका लागि एमबीबीएसमा एक सय सिट नै निर्धारण गरेको जानकारी दिए।
आयोगका अनुसार क्याम्पसले एमबीबीएसमा मात्र नभई बी फार्मेसी र बीएससीएमएलटीको सिट संख्या पनि घटाउन भनेको छ। डीन कार्यालय मार्फत आएको पत्रमा बी फार्मेसीमा हाल ३० सिट रहेकोमा उक्त संख्या घटाएर २० बनाउनु पर्ने र बीएससीएमएलको १५ वटा सिट घटाएर १० बनाउन आग्रह गरेको छ।
क्याम्पसले कक्षाकोठा, शिक्षक लगायतका क्षमता नभएका कारण सिट संख्या घटाउन आग्रह गरेको हो।